काठमाडौं- संसद् सचिवालयकी एक महिला कर्मचारीले सभामुख कुष्णबहादुर महराले आफूमाथि बलात्कार गरेको गम्भीर आरोप लगाइन्। आइतबार राति तीनकुनेस्थित आफ्नै डेरामा रक्सी लिएर आएका महराले रक्सीको नसामा जबर्जस्ती करणी गरेको उनको आरोप थियो।
जबर्जस्ती गरेपछि ‘प्रहरीलाई खबर गर्छु’ भनेपछि महरा बाहिरिएको ती महिलाको भनाइ छ। त्यसलगत्तै प्रहरीलाई महिलाले खबर गरेकी थिइन्। महानगरीय प्रहरी वृत्त नयाँ- बानेश्वरबाट प्रहरीको एक टोली घटनास्थल पुगेको थियो।
पीडित भनिएकै महिलाको भनाइलाई आधार मान्ने हो भने प्रहरी राति नै महिलाको कोठामा पुगेर क्राइम सिन अवलोकन गरेर फोटो समेत खिचेर गएको भन्ने बुझिन्छ।
यसबारेमा कुरा गर्दै प्रहरी अधिकारीले प्रहरी घटनास्थल गएको पुष्टि गरेका छन्। सोमबार साँझ महरा सचिवालयले महिलाको भनाइ खण्डन गरेको थियो। तर मंगलबार नेकपा सचिवालयले महरालाई सभामुख र प्रतिनिधि सभा सदस्यबाटै राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्न सुझाए पनि महराले सभामुख पदबाट सर्तसहित राजीनामा दिएका छन् भने प्रतिनिधि सभा सदस्यबाट राजीनामा नै दिएका छैनन्।
महराको राजीनामा आए पनि अनुसन्धानले गति लिने भन्ने कुरामा भने शंका गर्ने ठाउँ देखिएको छ। राति नै प्रहरी घटनास्थल पुगेपछि ‘क्राइन सिन’ सुरक्षित गर्नु पर्ने, आफूलाई पीडित दाबी गरिएकी महिलाको मेडिकल जाँच गर्नुपर्ने, महिलालाई प्रहरीले संरक्षण दिनुपर्ने जस्ता अत्यावश्यक कामहरु भएको देखिँदैन। उल्टै आफू पीडित भएको दाबी गर्ने महिला ‘सुरक्षा थ्रेट’आएको बताउँदै आएकी छन्।
प्रहरीका एक अधिकारी भन्छन्, ‘हाई प्रोफाइल रेप केसमा ७५ प्रतिशत महिला एक्स्पोज हुनुभन्दा पहिला पीडित भएका हुन्छन्। तर सामान्य केसमा एक्स्पोज भइसकेपछि पीडित हुने गरेका छन्।’ अर्थात् हाइ प्रोफाइल व्यक्तिले गरेको बलात्कारमा पीडित भनिएका महिलाले आफूलाई एक्सपोज गर्न सक्दैनन्। र वर्षौंसम्म पीडित भएर बस्छन्। सामान्य व्यक्तिले गरेको बलात्कार केशमा भने सुरुमै पीडित भनिएकी महिला एक्सपोज हुन्छन् र पछि आर्थिकमा कुरा मिलेपछि उनीहरु होस्टाइल हुने गरेका छन्।
तर यो केसमा भने हाइ प्रोफाइल व्यक्ति जोडिएकाले यस घटनामा संलग्न भनिएकी महिलाका हकमा भने माथिल्लो भनाई लागू हुने अवस्था नभएको स्रोतले बताउँछ। पीडितलाई जाहेरी दिन लगाएर प्रहरीले अनुसन्धान गर्नु पर्नेमा ‘जाहेरी आएको छैन’ भन्दै प्रहरी नै पन्छिने गरेको छ। यसबारे सम्बन्धित प्रहरी अधिकारीसँग प्रश्न गर्दा उही उत्तर आयो, ‘आन्तरिक अनुसन्धान छँदैछ। मुख्य कुरो जाहेरी आउनु पर्यो।’
अर्कोतर्फ आरोपित पक्ष भने कुनै पनि हालतमा महिलालाई कन्भिन्स गराउने पक्षमा देखिएको छ। एक अनलाइन मिडियाले पोस्ट गरेको भिडियोले उक्त कुराको पुष्टि गर्छ। जहाँ महराले आफ्नो व्यक्तिगत मोबाइलबाट ती महिलालाई फोन गर्दै घटना सामान्य भएको र मिडियामा नजान आग्रह गरेका थिए।
यसरी महिलालाई कन्भिन्स गराउन खोज्ने र प्रहरी जाहेरी पर्खेर बस्ने भएपछि महिला थप पीडित बन्न सक्ने अवस्था आउन सक्ने कुराको आँकलन गर्छन् एक बहालवाला प्रहरी अधिकारी।
सामान्य नागरिकका केसमा भने प्रहरीले जाहेरी नलिई पनि प्रहरी प्रतिवेदनको आधारमा मुद्दा चलाउन सक्छ। तर महराका हकमा भने किन त्यस्तो हुन सक्ने? यस विषयमा प्रहरी स्रोतले भन्यो, ‘अहिले नै पक्राउ गरियो भने भोलि प्रहरी नै पंगु हुने अवस्था पनि आउन सक्ने देखिन्छ। पीडित भनिएकी महिला आफूमाथि कुनै दुव्यवहार नभएको, कुनै आवेशमा आएर त्यस्तो कुरा बताएको भनेको अवस्थामा प्रहरीले तत्कालै छाड्नु पर्ने अवस्था आउँछ।’
काठमाडौंमै रहेकी महिला, त्यो पनि केही मिटरको दूरीमा प्रहरी कार्यालय भएको अवस्थामा अहिलेसम्म जाहेरी नआउनुको कारण पनि भित्रभित्रै केही खिचडी पाक्न थालेको शंका गर्ने ठाउँ देखिएको स्रोतको दाबी छ। स्रोतका अनुसार आरोपित महिलाका श्रीमानको पनि महरासँग राम्रो सम्बन्ध छ। महरा पक्षले महिलाको श्रीमानसँग फोन गरेर घटना जे-जस्तो भए पनि मिल्नुको विकल्प नभएको बताएको स्रोतले जानकारी दियो।
घटना भएको तीन दिन भइसक्दा पनि जाहेरी नआउनुको कारण यही रहेको बताइन्छ।यो समाचार नेपाल लाइभमा नारायण अधिकारीले लेखेका हुन्।
प्रतिकृया दिनुहोस