• कला/ साहित्य

    संस्कृति जोगाउदै परम्परागत नाच

      ओमकार


    बर्दिया : आदिवासी जनजाति थारू समुदायको आफ्नै मौलिक भाषा, धर्म, साँस्कृतिक, परम्परा, पेशा रहन सहन तथा भेषभुषा अझै प्रचलनमा रहिआएको छ। थारु समुदायले विभिन्न चाडपर्वका अवसरमा फरक फरक खालका कार्यक्रमहरू संचालन गर्दै आएका छन्।

    थारु समुदायको बाहुल्यता रहेको बर्दियामा विजया दशमीको अवसरमा बृहत सांस्कृतिक जेउरा जगाइना कार्यक्रम आयोजना गरिएको छ। ठाकुरबाबा नगरपालिकामा ठाकुरबाबा नगरस्तरीय बडघर सन्जाल समिति र नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय समिति ठाकुर बाबाको आयोजनामा संचालित उक्त कार्यक्रममा विभिन्न ४२ समूहले आफ्ना आफ्ना कला प्रस्तुत गरेका छन्।

    बडा दशैँको उपलक्ष्यमा आयोजित उक्त कार्यक्रममा बोल्दै ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले दशैँलाई उत्सव तथा खुशी साटेर मनाउन आह्वान गरे। यस्तै आफ्नो मौलिक परम्परा जोगाउन थारु समुदाय नै अग्रसर हुनुपर्नेमा उनले जोड दिएका छन्। हराउँदै जान थालेको थारु समुदायको संस्कृति जर्गेनाका लागि थारु अगुवाको पहलमा जेउरा जगाइना कार्यक्रमको आयोजना गरिएको हो।

    थारु सुमदायको विभिन्न पहिरन तथा रहन-सहन र कला संस्कृतिका कारण बर्दिया महत्वपूर्ण मानिन्छ। तर अहिले आएर विकास तथा आधुनिकताको प्रभावको गतिसँगै आदिवासी जनजाति थारू समुदायको समग्र मौलिकतामा प्रतिकूल प्रभाव पर्न गई आदिवासी जनजातिको प्राचीनता, ऐतिहासिकता तथा परम्पराहरू हराउँदै लोप हुँदै गइरहेको वडा नम्बर १ बाट निर्वाचित वडा अध्यक्ष श्यामलाल थारुले बताए। 

    कुनै पनि सुमुदायको मौलिकता हराउँदै जानु भनेको उक्त समुदायको पहिचान मात्र नासिनु होइन समग्र देशको पहिचान कमजोर हुनु हो वडा अध्यक्ष थारुले भने, ‘त्यसकारण आदिवासी जनजातिको ऐतिहासिक तथा मौलिक सहितको भाषा, धर्म, रहन सहन परम्परा, तथा जीवनशैलीको जगेर्नाका लागि थारु समुदायका अगुवाहरूले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ।’थाहा खबरबाट।

    प्रतिकृया दिनुहोस