• देश

    सभामुख महराले दिए राजिनामा

      ओमकार


    काठमाडौं – संसद् सचिवालयमै काम गर्ने महिला कर्मचारीलाई जबरजस्तीकरणी गरेको गम्भीर आरोप लागेपछि सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन् ।

    सभामुख महराले प्रतिनिधि सभा नियमावलीको नियम २११ उपनियम (१) अनुसार उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई सम्बोधन गरी राजीनामा बुझाएका हुन् ।

    नियम २११ को उपनियम (१) मा भनिएको छ– ‘सभामुखले उपसभामुखलाई सम्बोधन गरी आफ्नो पदबाट राजीनामा दिन सक्नेछ । उपसभामुख वा कुनै सदस्यले राजीनामा दिँदा सभामुखलाई सम्बोधन गरी दिनुपर्नेछ ।’

    उपनियम (२) मा राजीनामा सम्बन्धमा सभालाई जनकारी गराउनुपर्ने उल्लेख छ ।

    ‘उपनियम (१) बमोजिम दिइएको राजीनामा अध्यक्षता गर्ने व्यक्तिले बैठकमा पढेर सुनाउने छ । बैठक चालू नरहेको अवस्थामा सूचना पत्रमा प्रकाशन गरिनेछ ।’

    संसद्को बजेट अधिवेशन असोज २ गते सकिएकाले अहिले संसद् चालू अवस्थामा छैन ।

    नेपालको संविधान, २०७२ को धारा ९१ उपधारा (६) मा सभामुखको पद रिक्त हुनेबारे उल्लेख छ । उक्त उपधाराको खण्ड (ख) अनुसार सभामुखले राजीनामा दिएमा सभामुखको पद स्वतः रिक्त हुनेछ ।

    यसअघि आजै बसेको प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको आकस्मिक बैठकले महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन लगाउने निर्णय गरेको थियो ।

    सभामुखको राजीनामापछि सभामुखले सम्हाल्दै आएको काम तत्कालका लागि उपसभामुखले गर्ने संसद् नियमावलीमा व्यवस्था छ ।

    प्रतिनिधि सभामा अहिले नेकपाबाटै निर्वाचित शिवमाया तुम्बाहाम्फे उपसभामुख छिन् ।

    तत्कालीन माओवादी केन्द्रका तर्फबाट दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित महरा २०७४ फागुन २६ गते सभामुखमा निर्वाचित भएका थिए ।

    संसद्को बजेट अधिवेशन भर्खरै सकिएको र हिउँदे अधिवेशन दशैं, तिहार र छठपछि मात्र शुरू हुने भएकोले त्यसपछि मात्र नयाँ सभामुख चयन प्रक्रिया शुरू हुनेछ । लोकान्तर बाट साभार

    प्रतिकृया दिनुहोस