सभामुख कृष्णबहादुर महरालाई संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीले यौन दुराचारको आरोप लगाएकी छिन् । आइतबार बेलुका राजधानीको तीनकुनेस्थित आफ्नै डेरामा आएर महराले जबर्जस्ती गरेको ती महिलाको दाबी छ ।
सभामुख महराले भने आफूमाथि लागेको आरोप निराधार र कपोलकल्पित भएको भन्दै खण्डन गरेका छन् । उनी आइतबार दिउँसो १२ बजे सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा गएको र दिउँसो २ बजे बालुवाटार निवास फर्किएपछि कतै नगएको उनको सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘सभामुखको राजनीतिक उचाइ, व्यक्तित्व र प्रतिष्ठालाई सिध्याउने षड्यन्त्र भएको छ, यो सुनियोजित र योजनाबद्ध छ,’ विज्ञप्तिमा भनिएको छ ।
ती महिलाले भने आइतबार बेलुकी आफ्नो कोठामा आएका सभामुख महराले जबर्जस्ती गरेपछि प्रहरीलाई खबर गरेको बताएकी छिन् । प्रहरी स्रोतका अनुसार आइतबार बेलुकी ती महिलाले प्रहरीको हटलाइन १०० मा फोन गरेकी थिइन् । केहीबेरमै महानगरीय प्रहरी वृत्त बानेश्वरबाट प्रहरी उनको डेरामा पुगेको थियो । त्यतिखेर ती महिला एक्लै थिइन् । प्रहरीले उनलाई जाहेरी दिन कार्यालय हिँड्न भनेको थियो । उनले सोमबार आउने बताएकी थिइन् । तर, सोमबार उनी प्रहरीमा गएकी छैनन् । जाहेरी नपरेकाले प्रहरी अधिकारीहरू आधिकारिक रूपमा बोल्न चाहेका छैनन् ।नयाँ पत्रिकाबाट।
प्रतिकृया दिनुहोस