रोल्पाको लुंग्री खोलामा सोमबार दिउँसो यात्रुबाहक बस खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा लुंग्री गाउँपालिका–३, जुतुङखोलाका बस चालक २२ वर्षीय यामबहादुर घर्ती र यात्रु लुंग्री गाउँपालिका–२, सिर्पका १९ वर्षीय सूर्यलाल जीएम रहेको रोल्पा प्रहरी प्रमुख डिएसपी चित्रबहादुर गुरुङले बताए ।
जिल्लाम सञ्चालित आशिर्वाद यातायात प्रालिको ग १ ख ५५७३ नम्बरको बस सुनिलस्मृति गाउँपालिका–३, रुइनीबाङ जिपपार्कदेखि उत्तरपूर्वतर्फको सडकबाट दुई सय मिटर तल भिरबाट खोलामा खसेको थियो ।
बस पानीमा डुबेकोले बसभित्र अरु पनि यात्रु थिए कि थिएनन् भन्ने एकिन हुन नसकेको प्रहरीले जनाएको छ । दुर्घटनापछि इलाका प्रहरी कार्यालय सुलिचौरको प्रहरी र स्थानीय उद्धारको लागि खटिएका छन् ।
बस साँघुरो खोलाको खोंचमा खसेको र पानीको बहाव धेरै भएकाले उद्धारमा समस्या भएको प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङले बताए । स्थानीयका अनुसार बस फर्काउने क्रममा दुर्घटना भएको थियो । बसभित्र तीनजना रहेको अनुमान गरिए पनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नयाँ पत्रिकाबाट।
प्रतिकृया दिनुहोस