• पत्र-पत्रिका

    प्रचण्ड बिदेशीको नेपाली कांग्रेस प्रचण्डको भरिया : कमल थापा

      ओमकार


    राप्रपाका अध्यक्ष कमल थापाले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विदेशी दलालहरूको भरिया र नेपाली कांग्रेस प्रचण्डको भरिया भएको बताएका छन् । राप्रपा भक्तपुरले आयोजना गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा उनले प्रचण्डका कारण नेपाल धर्मनिरपेक्ष देश बनेको, संघीयतामा गएको बताउँदै प्रचण्डले पश्चिमाको निर्देशनमा देशलाई ध्वस्त बनाउने काम गरेको आरोप लगाए ।

    उनले कांग्रेसले आफ्नो सिद्धान्त बिर्सेकाले, कांग्रेस कांग्रेस नभएकाले र नेकपा कम्युनिस्टजस्तो नभएकाले देशको स्थिति नाजुक भएको बताए । इतिहासमै वर्तमान सरकार सबैभन्दा भ्रष्ट रहेको बताउँदै अध्यक्ष थापाले प्रशासन, राजनीतिक दलहरू र अदालतसम्मको सेटिङमा इतिहासकै ठूलो एनसेलको ४० अर्बको घोटाला भएको बताए ।

    उनले परिवर्तनका नाममा हिन्दु राष्ट्रको पहिचान समाप्त पारियो, राजसंस्थालाई पार लगाइयो, एकात्मक देशलाई संघीयता लादियो, राष्ट्रघाती कदम चाल्दै राष्ट्रघाती नागरिकता विधेयकका माध्यमबाट लाखौं विदेशीलाई नेपाली नागरिकता दिइएको आरोप लगाए ।

    उनले भने, ‘परिवर्तनका नाममा राजालाई फाल्नेहरूले नै जनतालाई भेडा बाख्र्रा मान्दै बालुवाटारको जग्गासमेत खाए । देशमा भएका ठूला दल हाल आफ्नो सिद्धान्तबाहिर गएर कमाउ धन्दामा लागेका छन् ।’

    वर्तमान सरकार देशमै रोजगार सिर्जना गर्नेतर्फ लाग्नुभन्दा पनि वैदेशिक रोजगारमा जाने तालीम प्रदान गर्दै सरकाले गलत नीति लिइरहेको उनको भनाइ थियो ।

    इसाइकरण हुने मुलुकमा नेपाल पहिलो

    अध्यक्ष थापाले हालै सार्वजनिक तथ्यांकअनुसार नेपाल इसाईकरण हुने मुलुकमा एक नम्बरमा रहेको बताए । उनले प्रलोभनमा पार्दै सोझा सिधा नेपाली जनतालाई इसाई धर्ममा लगाएर हाम्रो धर्मसंस्कृति, मौलिक परम्परा र हाम्रो अस्तित्व नै मेटाउन विदेशी शक्ति लागिपरेको र उनीहरूकै तालमा नेकपा र कांग्रेस नाच्दै आएको आरोप लगाए ।

    उनले भने, ‘हाम्रो आफ्नो पहिचानमाथि नै हमला हुँदासमेत हामी किन मुकदर्शक भएर बसेका छौं ? अझै पनि चुप लागेर बस्ने हो भने हामी र हाम्रो देश नै सकिन्छ ।’

    समारोहमा राप्रपा भक्तपुरका जिल्ला अध्यक्ष माधव खत्रीले हामी एकजुट हुन नसक्दा हाम्रो मौलिक परम्परामाथि हमला भएको बताए । उनले अब पनि हामी एकजुट हुन सकेनौं भने राजसंस्था गएजस्तै हाम्रो देश पनि जाने दाबी गरे । उनले भने, ‘धर्म संस्कृति अनि परम्पराको जर्गेना गर्न सबै एकजुट हुने समय आएको छ ।’

    कार्यक्रममा नेपाली कांग्रेस, नेकपा, नेमकिपा र राप्रपा प्रजातान्त्रिक त्याग्दै सयौं जना राप्रपामा प्रवेश गरेका थिए । पार्टी प्रवेश गर्नेलाई पार्टीले विभिन्न जिम्मेवारी दिने जिल्ला अध्यक्ष खत्रीले बताए । कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, जिल्लाका नेताहरू भुवन ढुंगेल र नरगोविन्द शंखदेवले पनि सम्बोधन गरेका थिए ।
    शिलापत्रबाट।

    प्रतिकृया दिनुहोस