• फिचर समाचार

    आज नवरात्रीको दोस्रो दिन ब्राह्मचारिणी देवीको पुजा गरिदै

      ओमकार


    हिन्दूहरुको महान् पर्व बडादशैंको दोस्रो दिन आज देवीमन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रह्मचारिणीको पूजाआजा गरिंदै छ ।

    ब्रह्मचारिणी देवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा पूजाआजा गर्ने प्रचलन रहेको छ ।

    ब्रहमचारिणी देवीको आराधनाले व्यक्तिलाई ब्रह्म अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचर्य जस्तो परम पदमा पुग्न सकिने कुरा शास्त्रहरुमा उल्लेख छ ।

    सांसारिक मायामोहको जञ्जालबाट मुक्त गराई व्यक्तिलाई ज्ञानमा आकर्षित गरी मानव जीवन सार्थक बनाउन साधकलाई ब्रह्मचारिणी देवीको अनुकम्पा आवश्यक हुने बताइएको छ ।

    ब्रह्मचारिणी देवीलाई भक्तिको प्रतीक मानिन्छ । ब्रह्मचारिणी माता पार्वतीको विवाहपूर्वको अवस्थाको रुपमा चर्चा गरिएको छ ।

    माता पार्वतीको यो रुपलाई ब्रह्मचारिणी, तपस्वी तथा योगिनी पनि भनिएको देवीभागवत लगायतका ग्रन्थहरुमा उल्लेख छ । ब्रह्मचारिणी देवीले एक हातमा कमल धारण गरेकी छन् भने दोस्रो हातमा कमण्डलु लिएकी छन् ।

    कमलले सच्चिदानन्द ब्रहमस्वरुप संकेत गर्दछ भने कमण्डलुले वरदान र आशिर्वादको अर्थ संकेत गरेको छ । देवी ब्रहमचारिणीको पूजाआराधना गर्न भक्तजनहरु आज बिहानैदेखि मुलुकका विभिन्न शक्तिपीठ, देवीमन्दिरमा भेला भएका छन् ।

    घरघरमा स्थापित दशैंघर वा कोठामा पनि माता ब्रहमचारिणीको पूजाआजा तथा उनको गुणवर्णन गरिएका ग्रन्थहरुको वाचन श्रवणको क्रम पनि चलिरहेको छ ।

    प्रतिकृया दिनुहोस