• समाचार

    संसद सचिवालयको ५० लाखको लिफ्ट एक महिनामै बिग्रियो

      ओमकार


    काठमाडौँ – संघीय संसद सचिवालयमा ५० लाख रुपैयाँ खर्चेर जडान गरिएको लिफ्ट सञ्चालनमा आएको एक महिनामै बिग्रिएको छ।

    राष्ट्रियसभा सचिवालय रहेको दुई नम्बर भवनमा जडान गरिएको लिफ्ट सञ्चालनमा आएको एक महिना नबित्दै बिग्रिएर तलमाथि गर्ने व्यक्ति थुनिएका हुन्।

    सचिवालयले गत वर्ष झण्डै दुई करोड खर्चेर राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष, सचिव एवं समितिहरु रहने भवनको मर्मत सम्भार सुरु गरेको थियो। सचिवालयले सार्वजनिक खरिद प्रक्रियाको उल्लंघन गर्दै खर्च गरेको र अनियमिता भएको आशंकामा अख्तियारद दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेका बेला ठूलो मूल्यको लिफ्ट सञ्चालनमा आएको केही समयमै बिग्रिएको हो।

    राज्यका अरु निकायमा भएका अनियमिता र गडबडीको छानबिन गर्ने संसद आफैँ पटक पटक आर्थिक र गुणस्तरको विषयमा विवादमा तानिएको हो।

    मर्मत सम्भारको अरु काम गत वर्ष नै सकिए पनि लिफ्ट भने गएको भदौ महिनादेखि मात्र नियमति सञ्चालनमा ल्याइएको थियो। लिफ्ट बीचमै रोकिँदा आइतबार दुईपटक सचिवालयका कर्मचारी तथा सुरक्षाकर्मी लिफ्टभित्रै थुनिएपछि प्राविधि बोलाएर उद्धार गरिएको एक कर्मचारीले जानकारी दिए।

    अधिकृत जीवन निरौला, खरिदार रमा कुँवर र मर्यादापालक रामेश्वर बस्नेत लिफ्टमै थुनिएपछि सचिवालयमा हल्लाखल्ला मच्चिएको थियो। उनीहरु झण्डै आधा घण्टासम्म लिफ्टमा थुनिएपछि दुवैपटक प्राविधि बोलाउनु परेको थियो।

    घटनापछि सचिवालयका एक कर्मचारीले भने, ‘लिफ्टबाट हिड्न डरमर्दो भयो। बल्लबल्ल लिफ्फ चल्यो भनेर खुशी भए पनि भित्रै थुनिनु पर्ने अवस्था सिर्जना भयो।’ ६ तला रहेको भवनमा लिफ्ट चलेपछि कर्मचारीहरु काम गर्न सहज भएको भन्दै उत्साहित भएका थिए।

    यसअघि सचिवालयले खरिद गरेको ११ वटा स्कोरपिओ गाडी पनि प्रयोगमा आएको एक महिना नबित्दै बिग्रिएको थियो। गाडी बिग्रिएपछि प्रत्योजित विधान व्यवस्थापन समितिका सभापति रामनाराण बिडारीको संयोजत्वमा गठित पाँचस दस्यीय समितिले छानबिन गरेको थियो।

    समितिले गाडी खरिदमा अनियमितता आशंका गरे पनि ठोस प्रमाण नभेटिएको भन्दै सभामुख कृष्णबहादुर महारालाई प्रतिवेदन बुझाएको थियो।
    देश संचारबाट

    प्रतिकृया दिनुहोस