चितवन : चितवनको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको चरित्रहत्या हुने सामग्री पोष्ट गर्नेविरुद्ध महानगरले जाहेरी दर्ता गराएको छ। फेसबुकलगायत विभिन्न सामाजिक सञ्जालमा पोष्ट गरिएका अश्लील श्रब्य/दृष्य र स्ट्याटस हाल्नेहरूविरुद्ध महानगरले जाहेरी दर्ता गराएको हो।
आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय चितवनमार्फत गृहमन्त्रालय र प्रहरी मुख्यालयमा साइबर क्राइमसम्बन्धी जाहेरी दिइएको महानगरपालिकाले जनाएको छ। चितवनमा शनिबार भ्रष्टाचार विरोध अभियान्तका रूपमा चिनिएका ज्ञानेन्द्रबहादुर शाहीमाथि आक्रमण भएपछि महानगरप्रमुख दाहाल लक्षित सामाजिक सञ्जालनमा गालीगलोजसहित फोटो पोष्ट गरेका थिए।
घटनासँग सम्बन्ध नजोडिएको विषयमा महानगर प्रमुखको अपमान र चरित्रहत्या हुने गरी भएको भ्रामक पोष्टहरू आपत्तिजनक र अमानवीय व्यवहार भएकाले महानगरले कानुनी उपचार खोजेको जनाएको छ।
चितवन प्रहरी प्रमुख दानबहादुर मल्लले महानगरको तर्फबाट प्रहरी कार्यालयमा जाहेरी आएको बताए। गलत हर्कत गर्नेहरूको खोजी भइरहेकाले दोषीलाई कानुनी कार्वाही हुने उनले बताए। एसपी मल्लले यसअघि शाहीमाथिको आक्रमणमा संलग्नको पहिचान गर्ने काम पनि भइरहेको बताए।
प्रतिकृया दिनुहोस