काठमाडौंः काठमाडौंमा जारी साफ यू १८ को उपाधि भारतले जितेको छ। आज हलचोकस्थित सशस्त्र प्रहरीको मैदानमा भएको खेलमा भारतले २–१ गोल अन्तरले जित हात पारेको हो।
खेलको पहिलो हाफमा दुवै टिमले बराबरी खेलेका थिए। भारतका लागि खेलको दोस्रो मिनेटमै विक्रम प्रतापले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए। खेलको २२ औं मिनेटमा दुवै टोलीका खेलाडीहरुले अभद्र व्यवहार गरेपछि रेफ्रिले २ वटा रेडकार्ड देखाएका थिए। जसमा भारतका गुरकिरात र बंगलादेशका मोहम्मद फाहिम रातो कार्ड खाँदै बाहिरिए।
फेरि, खेलको ४० औं मिनेटमा बंगलादेशका येसिनले गोल गर्दै बंगलादेशलाई बराबरीमा ल्याए। तर, गोल पछिको सेलिब्रेसन अभद्र भएको भन्दै रेफ्रिले उनलाई पनि रेडकार्ड देखाए। रेडकार्ड पाएपछि पनि उनले मैदान छाड्न नमानेपछि खेल केहीबेर रोकिएको थियो।
दोस्रो हाफको सुरुबाट नै दुवै टोलीले आक्रामक खेल खेले पनि गोल गर्न भने खेलको अन्तिम समम सम्मै कुर्नु पर्यो। ९१ औं मिनेटमा भारतका लागि रविले निर्णायक गोल गर्दै भारतलाई उपाधि दिलाए।
आजै भएकाे तेस्राे स्थानकाे प्रतिस्पर्धामा भुटानलाई हराउदै माल्दिभ्सले तेस्राे स्थान सुरक्षित गर्याे।
प्रतियाेगितामा समूह ‘ए’ बाट भुटान ४ अंक जोड्दै सेमिफाइनल प्रवेश गरेको थियो। उसले नेपाललाई ३–० गोलअन्तरले पराजित गरेको थियो भने माल्दिभ्ससँग गोलरहित बराबरी खेलेको थियो। माल्दिभ्सले समूह चरणका दुवै खेल बराबरी खेलेको थियो। प्रतियोगिताको पहिलो खेलमा नेपाल र माल्दिभ्सले १–१ को बराबरी खेलेका थिए।
त्यस्तै समूह ‘बी’ बाट भारत समूह विजेता र बंगलादेश उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेका हुन्। भारत र बंगलादेशले समान ४ अंक र गोलान्तर पनि बराबरी भएपछि गोलाप्रथाबाट भारत समूह विजेता बनेको थियो। भारत र बंगलादेशले गोलरहित बराबरी खेलेका थिए भने दुवै टिमले श्रीलंकालाई ३–० गोलान्तरले पराजित गरेका थिए।
प्रतियोगितामा आयोजक तथा डिफेन्डिङ च्याम्पियनसमेत रहेको नेपाल समूह चरणबाटै बाहिरिएकाे थियाे। माल्दिभ्ससँग १–१ को बराबरीमा रोकिएको नेपाल भुटानसँग ३–० ले पराजित भयो। ह्याट्रिकको लक्ष्य लिएको नेपाल घरेलु मैदानमै प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको थियाे।पहिलो पोष्टबाट ।
प्रतिकृया दिनुहोस