• मुख्य

    दशैंको मुखमा सरकारले बाँड्यो करोडौं रकम, ब्यक्ति देखि सेक्युरिटी कम्पनीसम्मलाई आर्थिक सहयोग

      ओमकार


    काठमाडौं : सरकारले दशैंको मुखमै करोडौं रकम आर्थिक सहायताका नाममा विभिन्न व्यक्ति र संस्थालाई बाँडेको छ । पछिल्लो सरकारी तथ्याङ्क बाहिरिएसँगै सरकारले करोडौं रकम बाँडेको जानकारीमा आएको हो । जसअनुसार मन्त्री परिषदको निर्णयअनुसार अर्थ मन्त्रालयले २०७६ भदौ महिनामा विविध शीर्षकबाट भएको आर्थिक सहायता निकासा तथा रकमान्तरको विवरण सार्वजनिक भएको छ । आर्थिक सहायता शिर्षकमा सरकारले विभिन्न व्यक्तिलाई दिईएको सहायताको विवरण सार्वजनिक भएको हो ।

    जस अन्तर्गत आर्थिक सहायता संखुवासभा जिल्ला खाँदबारी नगरपाालिका वडा नं. १२ निवासी हाल चन्द्रनिगाहपुर स्रोत केन्द्रका स्रोत व्यक्ति मुकुन्द पराजुलीलाई भुक्तानी गर्न रु. ५ लाख गृह मन्त्रालयलाई निकासा दिएको छ । यस्तै कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकामा निर्मला पन्त काण्डमा भएको आन्दोलनका क्रममा घाइते भएकाको उपचारका लागि रु. २५ लाख आर्थिक सहायता उपलब्ध गराउन गृह मन्त्रालयले निकासा गरेको उल्लेख छ ।

    यसैगरी नुवाकोट जिल्लाको दुप्चेश्वरमा भएको सवारी दुर्घटनामा भएका घाइतेहरूको उपचारका लागि ५ लाख ५३ हजार ४ सय ९ रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउन गृह मन्त्रालयलाई निकासा गरेको जनाएको छ । भने झापा जिल्ला निवासी मनमोहन मिश्रलाई दोहोरो नपर्ने गरी आर्थिक सहायता उपलब्ध गराउन २ लाख रुपैयाँ गृह मन्त्रालयलाई निकासा दिएको छ ।
    यसैगरी गुरुमा धम्मावतीको उपचारका लागि बिल भौचर सम्बन्धित निकायले यकिन गर्ने गरी गृह मन्त्रालयको नाममा ३ लाख ३५ हजार ६ सय ३९ रुपैयाँ रकमान्तर गरी आर्थिक सहायता उपलब्ध गराएको छ ।

    सरकारी आर्थिक सहयता सर्लाही, हरिपुर–७ का महेश थापालाई रु. ७ लाख समेत संलग्न सूची बमोजिमका १८ जनालाई उपलब्ध गराउन ९१ लाख रुपैयाँ गृह मन्त्रालयका नाममा निकासा दिएको छ भने यस्तै नेपालगन्ज–१५, बाँके निवासी कमलसिंह क्षेत्रीलाई दोहोरो नपर्ने गरी आर्थिक सहायता उपलब्ध गराउन १ लाख रुपैयाँ गृह मन्त्रालयलाई निकासा दिएको विवरण उल्लेख छ ।

    राजस्व न्यायाधिकरणको फैसला कार्यान्वयन गर्नका निमित्त लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. लाई धरौटी बापत राखेको राजस्व फिर्ता दिने प्रयोजनका लागि भन्सार विभागको नाममा १ करोड ९२ लाख ४५ हजार २ सय १६ रुपैयाँ भन्सार फिर्ता बापत अर्थ मन्त्रालयलाई निकासा दिने जनाइएको छ । मन्त्रीपरिषदको हालै बसेको बैठकको निर्णयानुसार संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाने नेपाली प्रतिनिधिमण्डलको भ्रमणका लागि २ करोड २९ लाख २२ हजार रुपैयाँ परराष्ट्र मन्त्रालयलाई निकासा दिएको छ ।

    यस्तै वीरेन्द्रनगर नगरपालिका सुर्खेतका मनमाया बोगटीले घरजग्गा रजिस्ट्रेसन वापत तिरेको दस्तुर रकम फिर्ता गर्ने प्रयोजनका लागि भूमिसुधधार, सहकारी तथा गरिबी निवारण मन्त्रालयको नाममा ७५ हजार रुपैयाँ निकासा दिएको छ । धरौटीमा जम्मा गर्ने रकम भूलवश राजस्वमा दाखिला भएकोले युनिक शिवशक्ति सेक्युरिटी प्रा.लि., जोरपाटी, काठमाडौं र तरक्क्ष सेक्युरिटी प्रा.लि., बालुवाटार, काठमाडौंलाई फिर्ता गर्ने प्रयोजनका लागि ५० हजार रुपैयाँ निकासा दिएको अर्थमन्त्रालयले जनाएको छ ।

    यस्तै धरौटीमा जम्मा गर्ने रकम भूलवश राजस्वमा दाखिला भएकोले एक्टिम सोलुसन प्रा.लि. लाई फिर्ता दिने प्रयोजनका लागि ४ लाख २० हजार रुपैयाँ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निकासा गरेको छ । त्यस्तैगरी सुनकोसी गाउँपालिका कमेरे, सिन्धुलीमा पहिरोमा परी घाइते भएका सिरहा, गोलबजार–३ का इन्दल साहको उपचार खर्चबापतको रकम आर्थिक सहायताका रूपमा निकासा गर्न ८ लाख ६२ हजार १ सय ३० रुपैयाँ गृह मन्त्रालयलाई उपलब्ध गराएको छ ।

    त्यसैगरी सरकारको निर्णयका आधारमा प्रचलित कानून र स्वीकृत मापदण्डको परिधिभित्र रही खर्च गर्ने गरी नून ढुवानीमा लाग्ने मूल्य अभिवृद्धि करबापतको रकम १ करोड ६५ लाख ५० हजार रुपैयाँ कण्ठरोग नियन्त्रण कार्यक्रम (नेपाल साल्ट ट्रेडिङ लिमिटेड) लाई रकमान्तर गरी निकासा गरेको छ । यस्तै नेपाल नोटरी परिषद्लाई १० लाख रुपैयाँ रकमान्तर निकासा दिन कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई उपलब्ध गराएको विवरणमा उल्लेख छ ।

    यस्तै झापा जिल्ला महारानीझोडा, लखनपुर, सतासीधाम, धरमपुर, तोपगाछी क्षेत्रको जग्गा दर्ता सम्बन्धी समिति, २०७५ का लागि प्रचलित कानुन तथा स्वीकृत मापदण्ड अनुसार खर्च गर्ने गरी १२ लाख रुपैयाँ भूमिसुधधार, सहकारी तथा गरिबी निवारण मन्त्रालयको नाममा भैपरी आउने साधारण प्रशासन शीर्षकमा रकमान्तर गरी निकासा दिएको जनाईएको छ ।

    सर्वोच्च अदालतमा प्रकोप पुनःप्राप्ती केन्द्र सम्बन्धी मेसिनरी उपकरण खरिद तथा स्थापना गर्न ७ करोड ९६ लाख ४ हजार रुपैयाँ सर्वोच्च अदालत (प्रशासनिक खर्चसमेत)का नाममा रकमान्तर गरी निकासा दिएको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको निमन्त्रणामा रुसी महासंघका सर्वोच्च अदालतका अध्यक्ष व्याचेस्लाव एम . लेबेडेभ को सम्मानका लागि आवश्यक पर्ने रकम १३ लाख ४० हजार रुपैयाँ सर्वोच्च अदालत (प्रशासनिक खर्चसमेत)का नाममा रकमान्तर गरी निकासा दिएको विवरणमा उल्लेख गरिएको छ । आगामी मंसिर १४ गते हुने उपनिर्वाचन सञ्चालन तथा व्यवस्थापन गर्न निर्वाचन आयोगका लागि २५ करोड रुपैयाँ निर्वाचन आयोग (प्रशासनिक खर्चसमेत)का नाममा रकमान्तर गरी निकासा दिएको जनाईएको छ ।

    यस्तै आ.व. २०७४÷७५ का लागि समानीकरण अनुदानबापत छिन्नमस्ता गाउँपालिकाका लागि उपलब्ध गराइएको रकममध्ये सञ्चित कोषमा दाखिला भएको १ करोड ४८ लाख ५६ हजार ५ सय ५ रुपैयाँ रकम सोही गाउँपालिकालाई रकमान्तर गरी वित्तीय हस्तान्तरण बापत उपलब्ध गराएको छ भने त्यसैगरी आ.व. २०७४÷७५ का लागि समानीकरण अनुदानबापत बूढीगंगा नगरपालिकाका लागि उपलब्ध गराइएको रकममध्ये सञ्चित कोषमा दाखिला भएको ३३ लाख १८ हजार ७ सय ८३ रुपैयाँ सोही नगरपालिकालाई रकमान्तर गरी वित्तीय हस्तान्तरण बापत उपलब्ध गराएको जनाएको छ ।

    प्रचलित कानून र स्वीकृत मापदण्ड बमोजिम कालिमाटी–कुलेश्वर–बल्खु सडक विस्तारका क्रममा पूर्ण रूपमा विस्थापितलाई क्षतिपूर्ति उपलब्ध गराउने प्रयोजनका लागि ८२ लाख ५० हजार रुपैयाँ काठमाडौं उपत्यका विकास प्राधिकरणका नाममा रकमान्तर गरी निकासा दिएको उल्लेख गरिएको छ ।

    आगामी मंसिर १४–२४, २०७६ मा काठमाडौंमा आयोजना गर्न लागिएको तेह्रौं दक्षिण एसियाली खेलकुद (‘साग’) प्रतियोगिताको राष्ट्रिय टिम तयारी रु. १५ करोड, खेल सामग्री खरिद रु. ३८ करोड, समारोह व्यवस्थापन रु. १ करोड र आवास व्यवस्थापनका लागि रु. १ करोड गरी तयारी एवं सञ्चालनका लागि जम्मा ५५ करोड रुपैयाँ रकमान्तर गरी राष्ट्रिय खेलकुद परिषद्लाई निकासा दिएको उल्लेख छ ।

    यस्तै आगामी मंसिर १४–२४, २०७६ मा काठमाडौंमा आयोजना गर्न लागिएको तेह्रौं दक्षिण एसियाली खेलकुद प्रतिायोगिताको पूर्वाधार पुननिर्माणका लागि रु. ४० करोड रकमान्तर गरी राष्ट्रिय खेलकुद परिषद्लाई निकासा दिएको विवरणमा उल्लेख छ ।

    द नेपाल टपबाट

    प्रतिकृया दिनुहोस