काठमाडौं : नेपालले सिंगापुरमा शुक्रबारदेखि सुरु भएको त्रिकोणात्मक टी-ट्वेन्टी क्रिकेट श्रृंखलामा दुःखद् सुरुवात गरेको छ। शुक्रबार भएको पहिलो खेलमा नेपाल जिम्बाबेसँग ५ विकेटले पराजित भएको छ। जितका लागि पाएको १ सय ३३ रनको लक्ष्य जिम्बाबेले ११ बल बाँकी छँदै ५ विकेट खर्चेर भेट्टायो।
नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरा ओभर खेल्दा ६ विकेटको क्षतिमा १ सय ३२ रन बनाएको थियो। नेपालका लागि दिपेन्द्रसिं ऐरीले बनाएको ४० रन नै सर्वाधिक रह्यो। सोमपाल कामी २५ रन बनाएर नटआउट रहे।
कप्तान पारस खड्काले १८, सन्दीप जोराले १७ रन बनाउँदा विनोद भण्डारीले अविजित ११ रनको योगदान गरे। डेब्यू गरेका कुशल मल्ल र इशान पाण्डेले दोहोरो अंकको रन नै बनाउन सकेनन् भने, आरिफ शेख पनि ८ रनमै आउट भए।
३३ बलको सामना गरेका दिपेन्द्रले ५ चौका प्रहार गरे। सिरिजअन्तर्गत नेपालले दोस्रो खेलमा भोलि सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ।
प्रतिकृया दिनुहोस