काठमाडौं । संगापुरमा भइरहेको त्रिकोणात्मक टि-ट्वान्टी सिरिजमा अहिले नेपालले जिम्बाब्वेसँग प्रतिस्पर्धा गरिरहेको छ । सिंगापुरको इन्डियन एसोसियसन ग्राउन्डमा भइरहेको खेलमा नेपालले जिम्बाब्वेलाई १३३ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३२ रन बनाउन सफल भयो । नेपालका लागि उप-कप्तान दिपेन्द्र ऐरीले सर्वाधिक ४० रनको योगदान गरे । उनले २३ बलमा ५ चौकाको सहयोगमा ४० रन बनाएका हुन् । नेपालका लागि ओपनरमा आएका कप्तान पारस खड्काले १८ रनको योगदान गरे । पारससँगै ओपनरमा आएका इशान पाण्डेले चार रन बनाए । उनको नेपाली राष्ट्रिय क्रिकेट टोलीका लागि डेब्यू खेल हो ।
त्यस्तै नेपालका लागि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका आरिफ शेख पनि धेरै टिकेनन् । आरिफ ८ रन बनाउँदै आउट भए । त्यसपछि नेपालका लागि डेब्यू गरेका कुशल मल्लले दुई रन मात्र बनाउँदै आउट भए । नेपालका लागि पाँचौ नम्बरमा ब्याटिङ गर्न आएका सन्दीप जोराले १७ रनको योगदान गरे ।
नेपालका लागि सोमपाल कामीले उत्कृष्ट पारी खेले
उनले १४ बलमा ३ छक्काको सहयोगमा २५ रन बनाउँन सफल भए । त्यस्तै नेपालका लागि विनोद भण्डारीले ११ रनको योगदान गरे । बलिङतर्फ जिम्बाब्वेका लागि कप्तान शेन विलिएम्सले दुई विकेट लिए । त्यस्तै वेलिन्टोन मस्कान्डज, टेन्डी चटार, नेभिल्ले मड्जि आइभा र रायन बुर्लले समान एक एक विकेट लिए ।
प्रतिकृया दिनुहोस