• कला/ साहित्य

    नेपालभाषामा लेखिएका कृतिहरू लोकार्पण

      ओमकार टाइम्स


    मोती शोभा श्रेष्ठद्वारा लिखित नेपालभाषाका लघु उपन्यास सङ्ग्रह र “नेपालमा घरेलु उद्योगको विकास” शीर्षक पुस्तक तथा प्रा.डा. सिर्जना श्रेष्ठ र प्रा.डा. सबिना श्रेष्ठद्वारा लिखित नेपाल भाषाका दुई कविता सङ्ग्रहहरूको लोकार्पण गरिएको छ । नेपाल भाषा एकाडेमीका कुलपति यज्ञरत्न धाख्वाको प्रमुख आतिथ्यतामा शनिबार ती पुस्तकहरू लोकार्पण गरिएको हो ।लेखिका मोती शोभा श्रेष्ठका लघु उपन्यासहरूमा नेपाली समाजमा महिलाको जीवनसँग गाँसिएका केही महत्त्वपूर्ण पक्षहरूलाई सरल भाषामा दर्साइएको छ । उनका रचनाहरूमा समाजमा विद्यमान विसंगति र विभेदहरूलाई औंल्याउनुका साथै तिनका सकारात्मक समाधानका पाटोहरू पनि उल्लेख गरिएका छन् । लेखिका श्रेष्ठ अर्थशास्त्रमा स्नातकोत्तर गरी सरकारी सेवामा लामो समय कार्यरत रही नेपाल सरकार श्रम तथा यातायात व्यवस्था मन्त्रालयको सह-सचिव पदबाट अवकाश प्राप्त गरेकी थिइन् ।

    कवियत्री सिर्जना श्रेष्ठका कविताहरूमा मान्छे, मन र मानव जीवनका भावनात्मक यात्रा अनि त्यसभित्रका आरोह अवरोहबीच अलमलिएका मान्छेको परिचय, माया र सम्बन्धका आभासहरू प्रष्ट भेटिन्छन् । उनी हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बालरोग विशेषज्ञ, प्राध्यापकको रूपमा कार्यरत छिन् र वहाँ प्रतिष्ठानको स्कूल अफ मेडिसिनका पूर्व डीन रहनु भएको थियो।

    कवियत्री सबिना श्रेष्ठका कविताहरूमा प्रकृति, सौन्दर्य, जीवन र समयका विभिन्न अध्यायहरू कोरिएको भेटिन्छन् । त्यस्तै मनका जिज्ञासा, कौतुहलता र प्रश्नहरू लगायत माया, प्रेम र समाजका अन्य परिदृश्यहरू समेत कवितामा समेटिएका छन् । उनी हाल काठमाडौँ मेडिकल कलेजमा बाल आँखा रोग विशेषज्ञ, प्राध्यापकका रूपमा कार्यरत छिन् । उनी नेपाल आँखा अस्पतालका पूर्व निर्देशक समेत रहेकी थिइन्।

    आज नेपाल भाषा फाउन्डेसनबाट एके परिवारका ३ सदस्यहरूका ४ वटा नेपालभाषामा लेखिएका कृतिहरू लोकार्पण भएको छ । कवियत्री द्वय डा. सिर्जना र डा. सबिना मोती शोभा श्रेष्ठकी छोरीहरू हुन् । यी पुस्तकहरू पहिले नेपाली भाषामा पनि प्रकाशित भइसकेका थिए ।

    प्रतिकृया दिनुहोस