• विदेश

    अमेरिकाले चीन माथि लगाएको कारणरहित कर हटाउनु पर्छ:चीन

      ओमकार


    असोज ८, न्युयोर्क (अमेरिका) । चिनियाँ विदेशमन्त्री वाङ यीले अमेरिकाले चीनमाथि लगाएको कारणरहित कर हटाउनुपर्ने बताएका छन् । मंगलवार अमेरिकाको न्युयोर्क पुगेका उनले यस्तो बताएका हुन् । अमेरिकालाई अर्थतन्त्रमा पछि पार्ने चीनको कुनै ध्याउन्न नरहेको उनले स्पष्ट पारे ।

    चीनले अमेरिकाको लागि आफ्नो मुलुकमा खुला अर्थतन्त्रको नीति अपनाएको भन्दै विदेशमन्त्री यीले अमेरिकाबाट पनि चीनमाथि त्यस्तै व्यवहारको अपेक्षा गरेका हुन् । उनले विगत केही दशकयता चीनको आर्थिक प्रयास तथा उपलब्धिलाई धेरैले बुझेको र यसलाई अमेरिकाले पनि वेवास्ता गर्न नसक्ने बताए । पछिल्लो समय अमेरिका र चीनको बीचमा व्यापारयुद्ध जारी रहेको अवस्थामा चिनियाँ विदेशमन्त्रीको तर्फबाट यस्तो भनाइ आएको हो ।

    अमेरिकाले चीनले आफ्नो बजारमा अमेरिकी प्रविधि कम्पनीलाई आफ्नो मुलुकमा प्रवेश गर्न नदिएको उल्लेख गर्दै अस्वस्थ प्रतिस्पर्धा गरेको आरोप लगाएको छ । त्यसको उदाहरणको रुपमा मास्टरकार्ड र भिसालाई लिन सकिन्छ । लामो समयदेखि यी कम्पनी चीनको बजारमा प्रवेश पाउन संघर्ष गरिरहेका छन् । तर, चिनियाँ कम्पनी युनियन पेको बजार विश्वभर विस्तार भइरहेको छ । त्यसका साथै गुगल सर्चलगायतका केही सेवा पनि चीनमा प्रतिबन्धित छन् ।

    चीन र अमेरिकाको बीचमा अक्टोबरको शुरुमा व्यापार वार्ता हुने अनुमान गरिएको छ । यीले यो वार्ताबाट सकारात्मक नतीजा आउने विश्वास व्यक्त गरेका छन् । एजेन्सी

    प्रतिकृया दिनुहोस