• पत्र-पत्रिका

    अष्ट्रेलिया जाने चाहाना इन्डोनेसियामा रोकिएपछि

      ओमकार


    म्याग्दी : थोरै पैसामा सुरक्षित र छोटो समयमै समुद्री तथा स्थलमार्ग हुँदै अस्ट्रेलिया पुगिने सपना देखाएर सात महिनाअघि इन्डोनेसिया लगिएकी बेनी नगरपालिका–९ तोरीपानीकी मुना खत्री इन्डोनेसियामा नारकीय जीवन बिताउन बाध्य भइन्।

    ऋण काढेर अघिल्लो कात्तिकमा मानव तस्करमार्फत नेपालबाट भारत हुँदै इन्डोनेसिया पुगेका खत्रीसँगै ६ जनालाई अस्ट्रेलिया पु-याउनुको साटो एक अपार्टमेन्टमा बन्धक बनाइयो। इन्डोनेसियामा बन्धक बनाइएका उनीहरूले शारीरिक र मानसिक यातनासमेत बेहोर्नुपर्‍यो।

    मानव तस्करका दलालहरूले चर्को यातना दिएर उनीहरूलाई अस्ट्रेलियाको बोर्डरमा पुगेको भन्दै घरबाट थप पैसा मगाउन दबाब दिन थाले। घरबाट पैसा मगाउन नसकेपछि दलाले उनीहरूलाई इन्डोनेसिया अध्यागमनको जिम्मा लगाए।

    दलालकै इसारामा प्रहरीलेसमेत कुटपिट गरेपछि हिरासतभित्रै बिरामी भएकी खत्रीले म्याग्दीका चन्द्रकुमार केसीलाई उद्धारका लागि अपिल गरिन्। सात महिना लामो कानुनी प्रक्रिया पूरा गरी उनीहरू हालै नेपाल फर्किएपछि यो विषय बाहिर आएको हो।

    ‘मिठा–मिठा सपना देखाएर अवैध तरिकाबाट अस्ट्रेलिया लैजाने नयाँ रूट इन्डोनेसिया बनेको छ। यसरी इन्डोनेसिया पुर्‍याइएका धेरै नेपाली मानव तस्करको जालोमा फसेका छन्,’ उद्धारपछि बेनी आएकी खत्रीले भनिन्, ‘इन्डोनेसिया पुर्‍याएपछि बन्धक बनाई पैसा असुल्ने गिरोह नै छ।

    ईश्वरका कृपाले, अन्तिम समयमा एउटा मोबाइलबाट हामीले नयाँ जीवन पायौं।’ उनले केसीलाई मोबाइलबाट आफ्नो तस्बिर पठाएर उद्धारका लागि सहयोग गर्न भनेकी थिइन्।

    खत्रीका अनुसार दलालहरूले अस्ट्रेलिया र क्यानडा लैजाने भन्दै इन्डोनेसिया पुर्‍याएर लाखौं रकम माग्छन्। नदिए त्यहीं बन्धक बनाएर यातना दिन्छन्। मानव तस्कर गिरोहले अस्ट्रेलिया र क्यानडाको सपना देखाएर इन्डोनेसिया पुर्‍याएर सयौं नेपालीलाई अलपत्र पारेको छ।

    इन्डोनेसियामा रहेका नेपाली दलाल शिव शर्मा र अस्मिरा चौलागाईले भारत पन्जाबको पठानकोट गुर्दासपुर घर भई इन्डोनिसियामै बस्दै आएका पुरुषोत्तमलालको सहयोगमा नेपालीलाई यातना दिने गरेको खत्रीसमेत ती पीडितले बताए।

    दलालले नेपालबाट १० लाख रुपैयाँमा अस्ट्रेलिया पुर्‍याउने भन्दै इन्डोनेसिया लैजाने र त्यहाँ पुर्‍याएपछि बन्धक बनाएर ३० लाखसम्म असुल्ने गरेको अन्य पीडितले बताएको जानकारी खत्रीले दिइन्।

    खत्रीका अनुसार दलाले मागेजति पैसा घरबाट मगाएर नदिए अलपत्र छाडिदिन्छन्। ‘नेपाली दलालको सहयोगमा भारतीयले थप पैसा माग्ने गर्थे। बन्धक बनाएर चर्को यातना दिएपछि नेपाली पैसा मगाउन बाध्य हुन्छन्,’ खत्रीसँगै उद्धार गरिएका अर्का विक्रम बरालले भने। बरालसँगै विजय लामा र गणेशप्रसाद रिजाल पनि नेपाल फर्किएका छन्। आजको नागरिक दैनिकमा यो खबर छ ।

    प्रतिकृया दिनुहोस