• राजनीति

    संविधान संशोधन नभए ठूलो दुर्घटना हुन्छ :भट्टराई

      ओमकार


    काठमाडौं : समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले सबै नेपालीको भावना समेट्न संविधान संशोधन गर्नुपर्ने बताएका छन्। 

    संघीय संसदको बजेट अधिवेशन समापनका क्रममा बिहीबार बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले संविधानका दुर्बल पक्षलाई संशोधन गरेर अघि बढ्नुपर्नेमा जोड दिए। 

    ‘संविधान ढुंगामा कुँदेको अक्षर होइन, हिमाल, पहाड, तराईका जनताको भावना समेट्न यसलाई संशोधन गरौँ’, उनले भने, ‘संविधान आधा भरी गिलास छ, आधा खाली गिलास छ। यसलाई पुरै भरी बनाउन संशोधनको विकल्प छैन।’

    ४ वर्षसम्म संविधान संशोधन गर्न नसकेकोमा चित्त दुखाउँदै भट्टराईले यो गल्तीलाई सुधार्नुपर्ने बताए । ‘हामीले गल्ती गरिरहेका छौँ। हिमाल पहाड तराई सबैको स्वीकार्य भएन भने जतिसुकै गुणगाण र बखान गरे पनि अर्थ छैन। संविधान संशोधन नभए ठूलो दुर्घटना हुन्छ’, उनले भने, ‘कुनै पनि बेला विस्फोटक हुन सक्छ। संविधान संशोधन अभावमा समस्या हुन्छ।’

    उनले कार्यकारी राष्ट्रपतीय जानै पर्नेमा जोड दिए। ‘हामीले निर्वाचन प्रणालीमा सुधार गर्नैपर्छ। कार्यकारी राष्ट्रपतीय प्रणालीमा जानुपर्छ’, उनले भने, ‘यदि संविधान संशोधन भएन भने दुईतिहाइ, तीनचौथाइ बहुमत भए पनि परिणाम आउँदैन।’

    डा. भट्टराईले सत्ता बाहिर हुँदा भ्रष्टाचार देख्नेले सत्तामा गएपछि भुल्ने गरेको बताए । ‘देश भ्रष्टाचारले डुङडुङी गन्हाएको छ। सत्तामा छँदा बिर्सने र सत्ता छाडेपछि सम्झिने नगरौँ’, उनले भने, ‘काम नगरी रातारात धनी हुने काम छ। निर्वाचन प्रणाली खर्चिलो भएको छ। करोडौँ खर्च गर्नुपर्ने बाध्यताले ठेकेदारर कमिशन एजेन्टबाट पैसा लिएपछि उनीहरुकै लागि संसदमा नाच्न बाध्य हुन्छौँ।’

    लोकतन्त्रलाई जनताको जीवनमा ढाल्न नसकेको उनको तर्क थियो। ‘सबै जनतालाई सन्तुष्ट बनाउन सक्नुपर्छ। पहिले हाम्रो अनुहार सफा गरौँ। ऐनामात्रै पुछिरह्यौँ भने केही हुन्न’, उनले भने।

    प्रतिकृया दिनुहोस