• सम–सामयिक

    चोरी नियन्त्रण अभियानमा प्रहरी

      ओमकार


    भक्तपुरमा चाडबाडका वेला हुन सक्ने चोरीका घटना न्यूनीकरण गर्न प्रहरी सक्रिय भएको छ । दसैँ–तिहारजस्ता चाडपर्वको मौका छोपी घर, पसलका मालसामान, गरगहना र नगद चोरी हुने गरेका छन् । अन्य समयमा पनि घरधनीले सामान्य सजगतासमेत नअपनाउँदा चोरीका घटना हुने र चोरसमेत पत्ता लगाउन मुस्किल पर्ने गरेको छ । 

    चोरी अपराध नियन्त्रण प्रहरीका लागि समेत चुनौती बन्दै गएपछि महानगरीय प्रहरी वृत्त ठिमीले चोरी अपराध नियन्त्रणका लागि विशेष अभियान थालेको छ । वृत्तले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत टोल–टोलमा पुगेर वृत्तचित्र प्रदर्शन, पम्प्लेट, पर्चा वितरण, माइकिङ र सचेतना र्‍याली, छलफल र जनप्रतिनिधिसँग अन्तरक्रिया गरिरहेको छ । अधिक चोरीका घटना चाडपर्वका वेला हुने भएकाले चाडपर्वलाई लक्षित गरी चोरी नियन्त्रण अभियान सञ्चालन गरिएको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले बताए ।

    सर्वसाधारणको लापरबाहीकै कारण चोरी र लुटपाटका घटना प्रहरीको टाउको दुखाइ बन्ने गरेको उनी बताउँछन् । प्रहरीलाई स–साना मालसामान, थोरै नगद र गरगहना चोरी गर्नेलाई पक्राउ गर्न हम्मेहम्मे पर्ने गरेको छ । अधिकांश चोरीका घटनामा प्रहरीले चोरको पहिचान गर्ने कुनै आधार नै भेट्दैन । 

    अधिकांश चोरीका घटनामा घरधनी, पसले र सामानधनीकै कमजोरीका कारण चोर पत्ता लगाउन नसकिएको उनले बताए । ‘घरधनीले ढोका लाउँदैनन्, घरमै पैसा राख्छन्, करोडौँको व्यवसाय गर्छन्, तर सिसीक्यामेरा राख्दैनन्,’ डिएसपी कोइराला भन्छन्, ‘प्रहरीले गस्ती गरेर सबै घर–घरका ढोका र दराज सुरक्षित गर्न सक्दैन ।’ 

    उनले सर्वसाधारणलाई आफ्ना मालसामान र नगद चोरीबाट जोगाउन सतर्क गराउन अभियान थालिएको बताए । ‘हाम्रो जनशक्तिअनुसार नियमित गस्ती सधैँ भइरहन्छ, अन्य कारबाही पनि निरन्तर छन् नै, तर त्यसले मात्रै चोरीका घटना नियन्त्रण गर्न सम्भव देखिएन,’ उनले भने । 

    चोरीका घटना बढेकाले नियन्त्रणका लागि सबै सर्वसाधारण सजग हुनुपर्ने प्रहरीको भनाइ छ । प्रहरीले टोल–टोलमा सचेतनामूलक कार्यक्रम र पर्चा पम्प्लेटमार्फत चोरीका घटनाबाट पूर्वसजगता अपनाउन आग्रह गरेको छ । आफ्नो वृत्तअन्तर्गत रहेका १५ वडाका कम्तीमा पनि ५० स्थानमा चोरी नियन्त्रणसम्बन्धी वृत्तचित्र प्रदर्शन गर्ने र सचेतना फैलाउने कार्यक्रम भइरहेको डिएसपी कोइरालाले बताए । प्रहरीले गाम्चा, चित्रपुर, हर्षचोक, सिरुटार, बोडे, सरस्वतीखेल, बालकुमारी, धुन्चेपाखा, नगदेश, दधिकोटलगायत टोल र विद्यालय, संघसंस्था, हाटबजारमा सचेतना कार्यक्रम गरिरहेको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत वडा कार्यालय, नगरपालिका, स्थानीय संघसंस्था र जनप्रतिनिधिसँग सहकार्य गरेर वृत्तले सचेतना अभियान चलाएको छ । दसैँअगावै टोल–टोलमा पुगेर सचेतना फैलाउने कार्यक्रम राखिएको र यस वर्ष चोरी नियन्त्रणमा सर्वसाधारणको सहयोग रहने अपेक्षा गरिएको डिएसपी कोइरालाले बताए । 

    अभियानका लागि यहाँका प्रहरी कर्मचारीले नै अभिनय गरेर वृत्तचित्र बनाएका छन् । वृत्तचित्रले घरको ढोका नलगाई बाहिर जाने, नगद घरमै राख्ने, गरगहना र पैसाको कारोबार सबैले देख्ने गरेर खुलेआम गर्नेजस्ता हेलचेक्र्याइँले चोर र गलत प्रवृत्ति भएकालाई चोरीका लागि प्रोत्साहन मिल्छ भन्ने सन्देश दिएको छ । पर्चा पम्प्लेटमार्फत प्रहरीले टोल सुधार समिति र व्यक्ति–व्यक्ति मिलेर टोलमा सिसिक्यामेरा जडान गर्न, सुरक्षा साइरन जडान गर्न, अपरिचित व्यक्तिलाई घरमा नभित्र्याउन, कामदार र भाडामा बस्नेको समेत नागरिकताको प्रतिलिपि लिएर राख्न, नगद र बहुमूल्य सरसामान घरमा नराख्न आग्रह गरेको छ । 

    चाडबाडका वेला घरमा ढोका नलगाई, कुरुवा नबसी रित्तै नछाड्न, मेला जात्राका वेला अपरिचित व्यक्तिसँग सजिलै ननजिकिन र कुनै शंकास्पद घटना भएमा आफू सजग भई तुरुन्तै प्रहरीलाई खबर गर्न सूचित गरेको छ । 

    नयाँ पत्रिकाबाट

    प्रतिकृया दिनुहोस