काठमाडौं : कालापानी र सुस्ताबिनाको नेपालको नक्सा सरकारले गत फागुनमा सच्यायो। अन्नपूर्णमा समाचार आएपछि आधिकारिक नक्सै पहिलो पटक सार्वजनिक गरियो। त्यसको कार्यान्वयनमा भने सरकारी निकायले बेवास्ता गरेको छ। कूटनीतिक नियोगमा गलत नक्सा भएको निसान छाप प्रयोग भइरहेको छ।
भारतस्थित नेपाली दूतावासको वेबसाइटमा रहेको निसान छापको नक्सामा कालापानी, सुस्ता गायब छ। इजरायल, ओमनलगायत देशमा रहेका नेपाली दूतावासले पनि नयाँ नक्सा भएको निसान छाप प्रयोग गरेका छैनन्। पुरानो नक्सा भारत तथा अन्य देशले बनाइदिएका थिए। कालापानी र सुस्तासमेत समेटेर नयाँ नक्सा नेपालले बनाएको छ। नापी विभागले यसको प्रचार नगर्दा गलत नक्साको प्रयोग नहटेको हो।
विभागका महानिर्देशक प्रकाश जोशी यसबारे जनचेतनाको काम गरिरहेको बताउँछन्। ‘नक्साको सम्बन्धमा टिम बनाएर काम गरिरहेका छौं’, उनी भन्छन्, ‘थाहा नभएर प्रयोग गरिरहेका छन्। त्यसैले कारबाही गरेर त कहाँ साध्य हुन्छ र ? ’
उनका अनुसार छपाइगृहमा अनुगमनको काम भइरहेको छ। गुगलमा भएको गलत नक्साका सम्बन्धमा विभागले केही गर्न नसक्ने उनको भनाइ छ। गुलतमा राखेको नक्सामा पनि कालापानी, सुस्ता गायब छन्। गुगलबाट गलत नक्सा हटाउन कूटनीतिक पहल गर्नुपर्ने विज्ञ बताउँछन्।
सीमाविद् बुद्धिनारायण श्रेष्ठका अनुसार संविधानको अनुसूची ३ मा अंकित निसान छापमा पनि गलत नक्सा परेको छ। त्यसलाई सच्याउन सरकारले पहल गरेको छैन। संविधान बनाउने क्रममा ६०१ सभासदमध्ये कसैको पनि ध्यान नक्सामा नपर्नु लापरवाही भएको उनी बताउछन् ।
‘देशको नक्सै आवरण पृष्ठमा राखिनुपर्ने हो’, उनी भन्छन्, नभए पछाडि राखेको भए पनि हुन्थ्यो तर कतै राखिएन। अनुसूची १ मा नेपालको राष्ट्रिय झन्डासहित बनावट वर्णन राख्न हुने तर नक्सा समावेश गर्न किन नहुने ? ’ राज्य संघीयतामा गएकाले संविधानमा नक्सा हाल्नु अपरिहार्य हुने उनको भनाइ छ। संविधान संशोधन हुँदा नक्सा राख्न उनी सुझाउँछन्।
पुरानो नक्सामा १ लाख ४१ हजार १८१ वर्गकिलोमिटरभन्दा क्षेत्रफल कम थियो। कालापानी क्षेत्रमा लिपुलेकसमेत गरी ६२ वर्गकिलोमिटर क्षेत्रफल उक्त नक्सामा छैन। चीनसँगको युद्धकालदेखि कालापानीमा भारतले सेना राख्दै आएको छ। ५७ वर्षदेखि नेपाली भूभाग कब्जा गरी भारतीय सेना बसिरहेका छन्। भारतकै प्रभावमा बनाइएको नक्सा प्रयोग भइरहेको थियो। नेपाल, भारत र चीनको ‘ट्रान्जिट प्वाइन्ट’ भएका कारण कालापानी क्षेत्रको सामरिक महत्त्व छ। यस्तै, नवलपुरको सुस्तामा भारतले १४ हजार ५ सय हेक्टर नेपाली भूमि अतिक्रमण गरेको छ। सुस्ता र कालापानी क्षेत्र अझै विवादित रहेको जोशी बताउँछन्।
अन्नपूर्ण पोष्टबाट
प्रतिकृया दिनुहोस