• राजनीति

    नेपालको संविधान बिश्व कै उत्कृष्ट दस्तावेज : नेता नेपाल

      ओमकार


    सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालको संविधान विश्वकै अनुपम दस्ताबेज भएको दाबी गरेका छन् ।

    पूर्वप्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता नेपालले नेपाल राष्ट्र र नेपाली जनताको हितलाई केन्द्र भागमा राखेर नेपाली जनता आफैंले बनाएको नेपालको संविधान कार्यान्वयनमा इमान्दार भएर लाग्न आग्रह गरे । संविधान दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधान कार्यान्वयनमा सबैले समर्पित भएर लाग्ने बेला आएको स्पष्ट पारे । संविधानमा व्यवस्था भए बमोजिम तल्ला तहका निकायहरुले कानुन निर्माण गर्न सक्ने÷नसक्ने बहसको विषय भएपनि अहिले भने संविधान कार्यान्वयनमा केन्द्रित हुनुपर्ने वरिष्ठ नेता नेपालको भनाइ छ ।

    वरिष्ठ नेता नेपालले मुलुकलाई समृद्ध बनाउने संकल्पसहित आएको नेपालको संविधानलाई इमान्दारिताका साथ कार्यान्वयन गरेर अघि बढनुको विकल्प नरहेको बताए । उनले संविधान सभाबाट संविधान जारी गरेर नेपालले विश्वमै गर्व गर्न लायक काम गरेको पनि स्मरण गराए । वरिष्ठ नेता नेपालले बालबालिका भोलीका भविष्यका कर्णधार भएकाले उनीहरुको शिक्षा, दीक्षाको उचित व्यवस्था गर्नुपर्ने आवश्यक्ता औंल्याए ।

    उनले देश गरिब भएकाले संविधानमा उल्लेख गरिए बमोजिम जनतालाई तत्काल सेवा, सुविधा दिने अवस्था नरहेको पनि बताए ।

    श्रोत नयाँ पत्रिका

    प्रतिकृया दिनुहोस