• सम–सामयिक

    तरकारीको मुल्यमा ३ गुणासम्म वृद्धि

      ओमकार


    १ असोज, काठमाडौं । मुख्य चाडपर्व नजिकिँदै गर्दा हरियो तरकारीमा अस्वभाविक मूल्य वृद्धि भएको छ । आलु, प्याज, बोडी, करेला जस्ता तरकारीको मूल्य बढ्दा आम उपभोक्ता मारमा परेका छन् ।

    भदौ २५ गते ३८ रुपैयाँ किलो थोक बिक्री भएको तनेबोडीको मूल्य असोज १ गते ९८ रुपैयाँ पुगेको छ । यस्तै, सोही दिन ३३ रुपैयाँमा बिक्री भएको तिते करेला एक सातामै १३६ प्रतिशतले बढेर ७८ रुपैयाँ पुगेको छ । ३३ रुपैयाँ किलोको घिरौला पनि सातौ दिनमा ७८ रुपैयाँ थोक मूल्य पुगेको छ ।

    रातो आलुको मूल्य एक सातामै ४३ रुपैयाँबाट बढेर ५८ रुपैयाँ किलो पुगेको छ । एक साताअघि प्रतिकिलो ५९ रुपैयाँमा थोक बिक्री भइको सुकेको प्याजको मूल्य ८९ रुपैयाँ पुगेको छ ।

    कालिमाटी तरकारी तथा फलफूल बजारमा सरदर दैनिक ५४ प्रकारका तरकारी तथा फलफूलको खरिद-बिक्री हुन्छ । पछिल्लो
    एक सातामा यिनीहरुमध्ये अधिकांशको भाउ बढेको छ । दैनिकरुपमा हरेकजसो भन्सामा पाक्ने आलु, प्याज, हरियो खुर्सानीजस्ता तरकारीको मूल्य थोकमा ह्वात्तै बढेको छ ।

    गोलभेडाको मूल्य भने यो साता घट्दो क्रममा देखिएको छ । नेपाली ठूलो गोलभेडा प्रतिकिलो ७ रुपैयाँ, नेपाली सानो ६ रुपैयाँ र भारतीय गोलभेडाको मूल्य भने स्थीर छ ।

    कालिमाटी तरकारी तथा फलफूल व्यवसायी संघले भने तरकारीको मूल्य नबढेको दावी गरेको छ । संघका अध्यक्ष भरत खतिवडाले तरकारीको मूल्य बढेको कुरा अफबाह भएको बताए । व्यवसायीलाई गलत देखाउन मूल्य बढेको हल्ला गरिएको उनको दावी छ । ‘पानी परेका कारण सडक अबरुद्ध छ । बजारमा तरकारी अभाव भयो होला तर मूल्य बढेको छैन,’ खतिवडाले भने ।

    यता कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले भने वर्षाकै कारण तरकारीको मूल्य बढेको जनाएको छ । प्याजको मूल्य भारतमै बढेका कारण नेपालमा असर परेको र अन्य तरकारी आवश्यक मात्रामा बजारमा नआएको एवं आएका पनि कृषकले नै बढी मूल्य लिएको पाइएको समितिका उप निर्देशक तथा प्रवक्ता बिनय श्रेष्ठले बताए ।

    एकाध तरकारीहरुको मौसमी उत्पादन सकिन थालेका कारण पनि मूल्य बढ्न गएको हुन सक्ने उनको आशंका छ । थोकमै मूल्य बढेपछि खुद्रा पसलमा झनै मूल्य बढेको उपभोक्ताहरु बताउँछन् ।

    प्रतिकृया दिनुहोस