• मुख्य

    संविधान दिवसको दिन देशव्यापी विरोध गर्ने राजपाको तयारी

      ओमकार


    संविधान दिवसको अवसरमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आगामी असोज ३ गते देशव्यापी रूपमा विरोध प्रदर्शन गर्ने निर्णय गरेकै बेला प्रदेश–२ सरकारले सोही अवसरमा तीन दिवसीय कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ ।

    समाजवादी पार्टी र राजपाको प्रदेश २ मा सरकार रहेको छ । सरकारमै सहभागी राजपाका मन्त्रीहरूले संविधान दिवसको अवसरमा प्रदेश २ सरकारले कार्यक्रम गर्दा कुनै विरोध गरेको छैन ।

    प्रदेश– २ सरकारको मन्त्रिपरिषद् बैठकले आगामी असोज ३ गते संविधान दिवसको अवसरमा तीनदिने कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए ।

    मन्त्रिपरिषद्को निर्णयअनुसार कार्यक्रमको पहिलो दिन असोज २ गते डेंगु रोगबाट बच्न र लागू पदार्थ दुव्र्यसनी नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम गरिनेछ । त्यस्तै, दोस्रो दिन असोज ३ गते विभिन्न कार्यालयमा दीपावली गर्ने र अन्तिम दिन असोज ४ गते सरसफाइ तथा वृक्षरोपण कार्यक्रमको आयोजना गरिने मन्त्री यादवले बताए ।

    आफूहरू नेपालको संविधानसँग पूर्ण रूपले सन्तुष्ट नभए पनि संविधानले केही हक अधिकार दिएकाले सामान्य रूपमा संविधान दिवस मनाउन लागेको उनले बताए ।

    मन्त्री यादव समाजवादी पार्टीमा रहेका छन । राजपाका मन्त्रीहरूले यससम्बन्धमा कुनै प्रतिक्रिया दिएका छैनन् । राजपाका एक जना मन्त्रीले नाम नछाप्ने शर्तमा आफूहरू मन्त्रिपरिषदको बैठकमा सहमति जनाएपछि संविधान दिवसको अवसरमा हुने कार्यक्रममा सरिक नहुने जनाएका छन् ।

    समाजवादी पार्टी र राजपाको स्थिति कन्फ्यूजनको अवस्थामा रहेका कारण यस प्रकारको अवस्था देखिएको राजनीतिक विश्लेषक डा. सुरेन्द्र लाभ बताउँछन् । एकातिर सत्ताको लोभ पनि छ भने अर्कोतर्फ जनतासँग संविधान संशोधनको विषयमा चुनावको बेला गरिएको वचनवद्धता पूरा गराउने धर्मसंकट पनि रहेको छ यसै कारण यस प्रकारका निर्णयहरू आएको उनको कथन छ ।

    विपक्षी दलले पनि यसलाई डबल स्टैण्डर्ड राजनीति वताइरहेका छन् । नेकपाका सांसद मञ्जु यादवले घोर अवसरवादीको नमूना र दलालीको परकाष्ठा बताएकी छिन् । तर, राजपाका महासचिव राजीव झाले भने राजपा र मधेशवादी दलले जबसम्म संविधान सर्वस्वीकार हुँदैन, अधिकारविहीनलाई अधिकार प्राप्त हुँदैन, तबसम्म हाम्रो आन्दोलन नरोकिने र कालो दिवस मनाइरहने बताए ।

    प्रतिकृया दिनुहोस