• समाचार

    रेडियो नेपालबाट ९जना पत्रकार पक्राउ

      ओमकार


    रेडियो नेपालमा विभिन्न माग राखी आन्दोलनरत पत्रकारहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

    नेपाल पत्रकार महासंघले रेडियो नेपालको प्रदेश प्रसारण केन्द्र दिपायलबाट निस्कासित तीन जना पत्रकारको पुनर्बहाली तथा श्रमजीवी पत्रकार ऐन र न्यूनतम पारिश्रमिक कार्यान्वयनको माग राख्दै सिंहदरबारभित्रै रहेको रेडियो नेपालमा आन्दोलन गरिरहेको छ ।

    आन्दोलनको दोस्रो दिन रेडियो नेपालको मूल गेटमा तालाबन्दी गर्नुका साथै नाराबाजी गरेपछि प्रहरीले पक्राउ गरी ताला फोडेको थियो ।

    पक्राउ पर्नेमा महासंघका सचिव तथा श्रमजीवी हित प्रवद्र्धन समितिका संयोजक रामप्रसाद दाहाल, केन्द्रीय सदस्य जन्मदेव जैसी, यम बिरही, मीन बम, प्रेस युनियन महासचिव अजयबाबु शिवाकोटी, पत्रकार महासंघ डोटी शाखा अध्यक्ष योगेन्द्र बलायर र निस्काशित पत्रकारहरु प्रकाश बम, चक्र कुँवर दिलीप पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ परेका सबैलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ । पत्रकार महासंघको टोलीले केही दिनदेखि पत्रकार पुनर्बहालीलगायतका माग राखेर आन्दोलन गर्दै आएको छ । सो क्रममा प्रहरीले पत्रकारहरुलाई पक्राउ गरेको हो ।

    रेडियो नेपालले केही दिनअघि महासंघ डोटीका उपाध्यक्ष सुनिता रावल, सहसचिव प्रकाश बम र सदस्य चक्र कुँवरलाई निस्कासन गरेको थियो । रावल १० वर्षदेखि तथा बम र कुँवर तीन वर्षदेखि रेडियो नेपालमा कार्यरत थिए ।

    महासंघले उनीहरुको सेवामा निरन्तरता, श्रमजीवी पत्रकार ऐन तथा न्यूनतम पारिश्रमिक कार्यान्वयन गरी भदौ २३ गतेसम्म महासंघलाई जानकारी नदिए भदौ २४ गतेदेखि रेडियो नेपालको व्यवस्थापनविरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।

    प्रतिकृया दिनुहोस