आफूलाई सामाजिक अभियान्ता दाबी गर्ने ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)लाई सत्तारुढ नेकपाको भ्रातृ संगठन युवा संघ र वाईसीएलले कास्की जिल्ला प्रवेश गर्न नदिने भएका छन् । सोमबार संयुक्त विज्ञप्ति निकालेर उनीहरुले शाहीलाई कास्की प्रवेशमा रोक लगाइएको बताएका हुन् ।
नेपालगञ्ज एयरपोर्टमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई अभद्र व्यवहार गरेको भन्दै नेकपाका भ्रातृ संगठनले शाहीलाई कास्की छिर्न प्रतिबन्ध लगाएका हुन् ।
साविकको वाइसिएल तथा युवा संघका अध्यक्षद्वयले संयुक्त विज्ञप्ति जारी गर्दै ‘गणतान्त्रिक भूमि’मा प्रवेश निषेध गरेको बताएका छन् । विज्ञप्तिमा भोजराज पौडेल र डिल्लीराम सुवेदीको हस्ताक्षर छ ।
‘यस्ता गलत अभियानमा संलग्न ज्ञानेन्द्रबहादुर शाहीजस्ता कुपात्रहरुलाई गणतान्त्रिक भूमि कास्कीमा प्रवेश निषेध गर्ने जानकारी गराउँदै आम न्यायप्रेमी जनसमुदायमा विधिको शासन, पछिल्लो परिवर्तन तथा उपलब्धिको पक्षमा दृढतापूर्वक उभिन अपिल गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।
शाहीले गत शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको ढिलाइले बुद्ध एयरको प्लेन एक घन्टा ढिला भएको भन्दै मन्त्रीलाई झपारेका थिए । तर, मन्त्री भट्टराईले आफ्नो कारणले १५ मिनेटमात्र फ्लाइट डिले भएको र आफूलाई गाली गर्ने गणतन्त्रविरोधी भएको बताएपछि शाहीले पत्रकार सम्मेलन गरे । पत्रकार सम्मेलनमा पनि उनी कुटिएपछि प्रहरीले सुरक्षाका लागि भन्दै महानगरीय प्रहरी परिसर ललितपुर पुर्याएको थियो । त्यहाँ पुर्याएको केही समयलगत्तै पक्राउ पुर्जी थमाएर प्रहरीले उनलाई हिरासतमा लिएको थियो ।
बोल्दा सभ्य र शिष्ट भाषा प्रयोग गर्छु भनेपछि सोमबार मात्रै प्रहरीले शाहीलाई छाडेको छ ।
प्रतिकृया दिनुहोस