रौतहटको फतुवा विजयपुर नगरपालिकामा मतदानका क्रममा विवाद भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नु परेको छ । फतुवा विजयपुर २ सितलपुरमा काँग्रेसका वडाध्यक्ष उम्मेदवार भविखन यादवले नक्कली मतदाता खडा गरेर मतदान गर्न ल्याएको भन्दै झडप भएको थियो ।
अवस्था साम्य पार्न प्रहरीले ५ राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी प्रमुख एसपी विनोद घिमिरेले बताए । केही समय रोकिएको मतदान फेरि सुरु भएको एसपी घिमिरेले जानकारी दिएका छन् । त्यसैगरी गढीमाई नगरपालिका २ र ३ मा झडप भइरहेको कारण त्यहाँ तत्काल मतदान स्थगित भएको छ । त्यस्तै बौधिमाई नगरपालिकामा पनि एक स्थानमा विवाद भएको कारण मतदान स्थगित भएको छ । फतुवा विजयपुर ७ मा विवाद हुँदा केहीसमयदेखि मतदान स्थगित भएको छ ।
जिल्लाका २ गाउँपालिका र १६ नगरपालिका गरी १८ स्थानीय तहमा आज बिहान ७ बजे देखि मतदान भइरहेको छ । चुनावलाई सुरक्षित रूपमा गराउन म्यादी,नेपाल प्रहरी,सशस्त्र प्रहरी ,नेपाली सेनाका साथै विशेष मोबाइल टोली परिचालन गरिएको प्रजिअ कृष्ण बहादुर शाहीले बताएका छन् । रौतहटमा ८३ मतदान स्थल अति संवेदनशील रहेको छ ।
प्रतिकृया दिनुहोस