• खेलकुद

    क्रिकेट संघ बिबाद

      ओमकार


    २८ भदौ, काठमाडौं । आईसीसीको स्वतन्त्र टोलीद्वारा घोषित मितिमा नेपाल क्रिकेट संघ (क्यान) को चुनाव नहुने लगभग निश्चित भइसकेको छ । यसरी चुनाव पछि धकेलिँदा क्यानको निलम्बन फुकुवा हुनुको साटो झन् खराब परिस्थिति सामना गर्नुपर्ने हुनसक्छ ।

    अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का प्रतिनिधि समेत रहेको स्वतन्त्र टोलीले क्रिकेट संघको विशेष साधारणसभा ३ र ४ असोजका लागि बोलाएको थियो । तर राष्ट्रिय खेदकुद परिषद् (राखेप)ले चुनाव रोक्न निर्देशन दिएको छ ।

    राखेपले २०७२ सालमा गरेको तीनबुँदे निर्णयअनुसार नेपालमा कुनै पनि खेल संघले चुनावी अधिवेशन गर्नलाई उसको अनुमति लिनुपर्छ । न्यूनतम २१ दिन अगाडि सूचना दिएर अधिवेशन बोलाउनुपर्ने र निर्वाचन समिति पनि राखेपले नै बनाउने निर्णय त्यसबेला भएको थियो । तर, स्वतन्त्र टोलीले ७ दिन मात्र समय दिएर अधिवेसनको सूचना निकाल्यो ।

    नेपाली खेलकुदको नियमानकारी निकाय भएकाले राखेपले गरेको तर्क अस्वभाविक छैन । त्यसो भए स्वतन्त्र टोलीले गल्ती गरेको हो त ? यो पनि होइन, उसले क्रिकेट संघको विधान अनुसार गरेको हो । यो विधान आईसीसीले बनाएको सल्लाहकार समूहले ड्राफ्ट गरेर निर्वाचित क्यानको विशेष साधारणसभा, राखेप र आईसीसी तीनै निकायले अनुमोदन गरेका छन् ।

    विधानको दफा २२ ले भन्छ, राखेपले मनोनित गरेका एक प्रतिनिधिसमेत रहने स्वतन्त्र समितिले जिल्ला, प्रदेश र केन्द्रीय साधारणसभा बोलाउन सक्छ । र, यसरी साधारणसभा बोलाउँदा ७ दिनको सूचना दिएर बोलाइनेछ ।

    एकातर्फ राखेप आफ्नो निर्णयमा टेकेर बोलिरहेको छ भने अर्कोतर्फ स्वतन्त्र टोलीले पनि क्रिकेट संघको विधानमा टेकेर निर्णय गरेको छ । यसरी दुवै आफ्नो ठाउँमा ठिक छन् र गलत पनि । तर, राखेपको भूमिका चाहिँ समन्वयकारी र समाधानमूखी हुनु अपेक्षित थियो ।

    राखेपको शैली नेपाली आहान .‘…दैलो देख्यो’ भने झैं देखिएको छ । क्रिकेट संघको नयाँ विधान बनाउनदेखि साधारणसभा बोलाउने स्वतन्त्र समितिको निर्णयसम्म आइपुग्दा हरेक निर्णयमा उसको संलग्नता थियो ।

    विधान बनाउन आईसीसीले बनाएको सल्लाहकार समूहमा राखेपका प्रतिनिधिका रुपमा रोहित दाहाल थिए । उनी तत्कालीन सदस्य सचिव केशवकुमार विष्टका प्रेस सल्लाहकार हुन् । क्रिकेट संघको विधान बनाउँदा उनले दफादफा केलाएर छलफल नगरेको र राखेपको निर्णयसँग रुजु नगराएको समितिका सदस्यहरु नै बताउँछन् ।

    क्रिकेटको समस्या समाधान होस् भन्ने बाहेक उनको अरु चासो थिएन । सल्लाहकार समूहमा तत्कालीन निर्वाचित क्यान र सहसंयोजक विनयराज पाण्डे समूहकै बढी बहस हुने गरेको थियो ।

    सल्लाहकार समूहले विधान बनायो । निर्वाचित क्यानको विशेष साधारणसभाले हुबहु अनुमोदन गरेर विधान राखेपमा पठायो । त्यसबेला पनि राखेप नेतृत्वले आफ्नो निर्णयअनुसार विधान बनेर आएको छ कि छैन हेरेन । परिणाम, आज चुनाव गर्ने बेला गलफत्ति गर्नुपर्ने अवस्था आएको छ । यसले सदस्य सचिव रमेश सिलवाल विवादमा पर्ने मात्र होइन, क्रिकेट संघको विवाद झन बल्झिनेतर्फ उन्मूख बनेको छ ।

    प्रतिकृया दिनुहोस