काठमाडौं । पहिरोमा पुरिएर रोल्पामा एकै परिवारका ४ सहित ६ जनाको ज्यान गएको छ । बिहीवार राति १२ बजेतिर पहिरोले घर पुरेपछि थबाङ गाउँपालिकाको वडा नं. २ छेर्लोबाङका ६ जनाको मृत्यु भएको हो ।
पहिरोले पुरिएर घरमा सुतिरहेका २८ वर्षीया थीरकुमारी झाँक्री बुढा र उनको ४ वर्षीय छोरा असल बुढाको शुक्रबार बिहानै पहिरोबाट शव निकालिएको थियो । वडाध्यक्ष बसन्त रोकाका अनुसार सोही घरको भूइँतलामा सुतिरहेका ३८ वर्षीय जय बुढा, उनकी पत्नी ३६ वर्षीया मुलज्योति बुढा, ९ वर्षीया छोरी देवस्ती र २ वर्षीया छोरी करिष्माको शव पुरिएको अवस्थामा शुक्रबार दिउँसो निकालिएको हो ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङका अनुसार पहिरोबाट १ घर र ३ गोठ पुरिएका छन् । त्यस्तै, ४२ वटा पशुचौपायाको समेत मृत्यु भएको उनले बताए । ६ गाई, १९ भेडा र १७ बाख्रा मरेका छन् ।
सहिदमार्गको सडक खन्दा एउटा घरलाई बचाउन अर्को ठाउँमा थुपारिएको माटोको थुप्रोसँगै आएको पहिरोले ठूलो मानवीय क्षति भएको थबाङ–२ का वडाध्यक्ष बसन्त रोकाले बताए । वर्षातले गर्दा थबाङ पुग्ने सडक अवरुद्ध भएकोले पोष्टमार्टमका लागि शवलाई जिल्ला अस्पताल ल्याउन पनि झण्डै दुई दिन लाग्ने बताइएको छ ।
धेरै शवहरु जिल्ला सदरमुकाम ल्याउन समस्या देखिएकाले डा. प्रकाश बुढाको नेतृत्वमा स्वास्थ्य टोलीलाई नै थबाङ पठाउने थालिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए । घटनास्थलमा प्रहरी खटिएको र शनिबार चिकित्सक टोली पुगेपछि मात्र पोष्टमार्टम हुने बताइएको छ ।
घटनाको जानकारी भएलगत्तै इलाका प्रहरी कार्यालय थबाङबाट प्रहरी घटनास्थल पुगी उद्धार गरेको थियो । जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय घर्तीगाउँ, प्रहरी चौकी कुरेली र मिरुल रानागाउँबाट घटनास्थलमा प्रहरी पुगिसकेको बताइएको छ ।
प्रतिकृया दिनुहोस