• राजनीति

    नेकपाको कार्यक्रम स्थल मै झडप,प्रहरीद्वारा लाठीचार्ज

      ओमकार


    महोत्तरी–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नम्वर २ अन्तर्गतको २ जिल्ला कमिटीको सपथग्रहण कार्यक्रमस्थलमै झडप भएको छ ।

     विवादका बीच महोत्तरीको बर्दिबासस्थित सेवा समितिको हलमा सिरहा र सप्तरी जिल्ला कमिटीको सपथ ग्रहण कार्यक्रम राखिएपछि झडप भएको हो । 

    झडपका क्रममा सप्तरीको राजविराज नगरपालिका– ८ का देवनाथ यादव घाइते भएका छन् । उनी प्रदेश नम्बर २ का प्रदेश कमिटी सदस्य हुन् । झडपका क्रममा प्रहरीको लाठी चार्जबाट उनको टाउकोमा चोट लागेको जनाइएको छ । 

    मनोनयनमा पार्टीका नेताहरुले एकलौटी गरेको भन्दै एक समूहले विरोध गर्दै आएको थियो । विरोधका बीच अरु जिल्लाको सपथ कार्यक्रम स्थगित गरेर सिरहा र सप्तरीको सपथग्रहण तय गरिएको थियो । 

    नेकपाका केद्रिय सदस्यराजु खड्काले सिरहा र सप्तरी बाहेक अन्य जिल्लाको शपथ ग्रहण  स्थगित भएको जानकारी दिए । नेकपा प्रदेश कमिटी इन्चार्ज सत्यनारायण मण्डल, अध्यक्ष प्रभु साह र सचिव सुमनराज प्याकुरेलले विवाद समाधान नगरी सपथग्रहण गराएपनि यो अवस्था आएको बताइएको छ।  

    तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको जिल्ला कमिटी एकीकरणसँगै गठन भएको जिल्ला कमिटीमा मनपरी भएको भन्दै नेता कार्यकर्तामा चरम असन्तुष्टि देखिएको छ ।  आज बर्दिवासमा सिरहा, सप्तरी, महोत्तरी लगायतका ६ जिल्लाको कमिटीको शपथ गराउने तयारीे गरिए पनि अन्तिम समयमा आएर ४ जिल्लाको शपथ  स्थगित गरिएको प्रदेश कमिटी सदस्य राम पुकार यादवले जानकारी दिए । 

    उनका अनुसार पार्टी नेतृत्वले जनयुद्घको पृष्ठभूमिबाट आएका शहिद वेपत्ता परिवार र पार्टीमा वर्षौँदेखि  क्रियाशिल रहेका कार्यकर्ताहरुलाई पूर्णरुपमा उपेक्षित गरी समावेश नगरिएको भन्दै असन्तुष्ट कार्यकर्ताहरुले शपथ ग्रहण बिथोलेपछि झडप हुन पुगेको हो ।  

    शपथ ग्रहण गराउन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेल आउने तयारी भए पनि पार्टी भित्रकै विवादका कारण सहभागी नभएको बताइएको छ । 

    झडपपछि प्रहरीले अध्यक्ष प्रभु साहलगायतलाई सुरक्षित स्थलतर्फ लगेको छ भने अहिलेपनि कार्यक्रमस्थल शान्त बनेको छैन । 

    प्रतिकृया दिनुहोस