नेपाल र चीनका परराष्ट्रमन्त्रीको नेतृत्वमा द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्तामा तीन बुँदे सहमति भएको छ । सोमबार काठमाडौंको एक होटलमा सम्पन्न वार्तामा विपद व्यवस्थापन, भाषा र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित तीन बुँदे सहमति भएको हो ।
परराष्ट्र सचिव शंकरदास वैरागीका अनुसार मनाङमा करिब ३५ करोड रुपैयाँ सहयोगमा चीनले अस्पताल निर्माण गरिदिने, भूकम्प पीडितलाई पाँच हजार थान पाल उपलब्ध गराउने तथा चिनियाँ स्वयम्सेवकहरूले नेपाली शैक्षिक प्रतिष्ठानमा चिनियाँ भाषा अध्यापन गराउनेसम्बन्धी तीनवटा बेग्लाबेग्लै समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सोमबार चिनियाँ विदेशमन्त्री वाङ यी, उनका नेपाली समकक्षी प्रदीप ज्ञवालीसहित अर्थमन्त्री डा. युवराज खतिवडा, चीनका लागि नेपाली राजदूत लिलामणी पोखरेल, परराष्ट्र सचिव शंखर वैरागी, मन्त्रालयमा चीन मामिला हेर्ने सहसचिव काली पोखरेललगायतको उच्च पदस्थ अधिकारीबीच वार्ता भएको हो ।
चीनका तर्फबाट विदेशमन्त्री वाङ यी नेतृत्वको टोलीमा विदेश सचिव लु झाउबी, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी, चिनियाँ अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सीआईसीडीए) का उपाध्यक्ष, विदेशमन्त्रालयको एसिया विभागका अधिकारीलगायत वरिष्ठ चिनियाँ अधिकारी वार्तामा सहभागी थिए ।
प्रतिकृया दिनुहोस