काठमाडौं : छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी कारबाही गर्न माग राख्दै गोरखा फुजेलकी गंगामाया अधिकारीले असोज ३ देखि पुनः आमरण अनशन बस्ने बताएकी छन् ।
उनका छोरा नुरप्रसाद लामो समयदेखि सम्पर्कबिहीन थिए ।
उनले अभियुक्तलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई १२ दिने अल्टिमेटम दिएकी छन् ।
११ पटक अनशन बसिसकेकी अधिकारीले आइतबार वीर अस्पतालभित्रै पत्रकारसँग कुराकानी गर्दै छोराको हत्याका अभियुक्तलाई कानुनी कठघरामा ल्याउन १२ औं अनशनमा बस्ने बताएकी हुन् । ‘यो छोराको न्यायका लागि अन्तिम लडाइँ हो, सरकारले मेरो छोराको हत्या गर्नेलाई न्यायको कठघरामा उभ्याएन भने १२ दिनपछि आमरण अनशन सुरु गर्छु, नमरेसम्म लडिरहन्छु,’ उनले भनिन् । छोराको हत्याका अभियुक्तलाई कारबाही माग गर्दै अनशन बस्ने क्रममै उनका पति नन्दप्रसादकोमृत्यु भइसकेको छ ।
उनले छोराको हत्यामा संलग्न व्यक्तिलाई पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल र बाबुराम भट्टराईले कारबाही गर्न नदिएको आरोप लगाइन् । उनले अर्का छोरा नूरप्रसादलाई समेत सरकारले बिनाकारण जेलमा राखेको बताइन् ।
‘एउटा छोराको हत्या गरिएको छ, पतिको ज्यान गएको छ, मेरो यो हालत छ, अर्को निर्दोष छोरालाई पनि जेलमा लगेर राखिएको छ’, उनले भनिन्, ‘मेरो छोरालाई प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष दाहालको खटनले जेल हालिएको छ,’ उनले भनिन् । उनले आफूलाई बाहिर जान नदिएर सरकारले वीर अस्पतालभित्रै नजरबन्दमा राखेको दाबीसमेत गरिन् । कान्तिपुर दैनिकबाट
प्रतिकृया दिनुहोस