• खेलकुद

    यु – १९ एसिया कप,नेपाल बंगलादेशसंग पराजित

      ओमकार


    २२ भदौ, काठमाडौं । नेपाल एसीसी यू–१९ एसिया कपको दोस्रो खेलमा पनि नेपाल पराजित भएको  छ । आइतबार ब‌ंगलादेशविरुद्धको खेलमा नेपाल ६ विकेटले पराजित भएसँगै प्रतियोगिताबाट लगभग बाहिरिएको छ ।

    २६२ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको बंगलादेशले ४९.२ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।

    बंगलादेशको जितमा अकबर अलीले उत्कृष्ट ब्याटिङ गर्दै ९८ रनमा अविजित रहे । त्यस्तै, टवहिद हरिदोयले ६०, महमुदुल हसन जोयले ४०, शामिम हुसेनले अविजित रहँदै ४२ रन जोडे ।

    १९ रन हुँदा दुई विकेट गुमाएको बंगलादेशले सम्हालिएर खेल्दै जित हात पार्‍यो । सुरुवातमै विकेट लिएको नेपालले त्यसपछि भनेर राम्रो खेल्न सकेन । नेपालका लागि कमलसिंह ऐरीले २, हरिबहादुर चौहान र राशिद खानले समान १–१ विकेट लिए ।

    यसअघि श्रीलंकाको पी सारामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६१ रन बनायो । टेष्ट मान्यताप्राप्त देशविरुद्ध बलियो स्कोर बनाउने क्रममा पवन शरार्फसँगै सन्दीप जोराको ब्याटिङ उत्कृष्ट रहृयो । पवनले ८१ र सन्दीपले ५६ रन जोडे ।

    सुरुवातमा पवनले ऋत गौतमसँग पहिलो विकेटका लागि ४५ रनको साझेदारी गरे ।  ऋत ३२ रनमा आउट भए ।  त्यसपछि आएका आसिफ शेख ३ रनमै आउट भए । सम्हालिएर ब्याटिङ गरेका पवनले कुशल मल्लसँग ३९ रन र कप्तान रोहितकुमार पौडेलसँग १४ रनको साझेदारी गरे । त्यसपछि सन्दीप जोरासँग १४ रनको साझेदारी गरे ।

    पाँचौं विकेट गुम्दासम्म नेपालको स्कोर १७१ रन थियो र १० ओभरमात्र बाँकी थियो । त्यतिबेला सन्दीप जोरा र भीम सार्कीलेे ७१ रनको साझेदारी गरे  । सन्दीपले ३७ बलमा ५६ रन जोडे भने भीमले २१ रन बनाए । कुशल मल्लको नाममा व्यक्तिगत २८ र कप्तान रोहितकुमारको नाममा १४ रन रहृयो ।

    बंगलादेशका लागि शाहिन आलम र ताजिम हसन सकिबले समान २–२ विकेट लिए । त्यस्तै, मृत्युन्जय चौधरी, रकिबुल हसन, मिन्हाजुर रहमान र टोवहिद हरिदोयले समान १–१ विकेट लिए ।

    यो हारसँगै नेपाल यू–१९ एसिया कपबाट बाहिरिदा बंगलादेश भने सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले अब समूह चरणको अन्तिम खेलमा यूएईसँग प्रतिस्पर्धा गर्नेछ ।

    प्रतिकृया दिनुहोस