• देश

    जापान जाने कामदारको भाषा परीक्षा कात्तिकमा, साढे ५ हजार येन शुल्क तिनु पर्ने

      ओमकार


    काठमाडौं । जापान जाने कामदारको भाषा र सीप परीक्षण आउँदो कात्तिकमा हुने भएको छ । नर्सिङ कियर गिभरमा जाने कामदारका लागि कात्तिक १० र ११ मा भाषा परीक्षा र १९ र २० गते सीप परीक्षण गर्ने जापानले जनाएको छ । सो परीक्षाका लागि आवेदकले ४ हजार ५ सय येन शुल्क तिर्नु पर्ने बताइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकाअनुसार भाषा र सीप परीक्षण गर्न जापानबाटै टोली आउने र जापानको सामान्य भाषा र पेसागत भाषामा उत्तीर्ण गरेपछि मात्रै सीप परीक्षणमा सहभागी हुन पाउनेछन् । परीक्षामा सहभागी हुन कुनै विषयमा प्रमाणपत्र वा तालिमको प्रमाणपत्र पेस गर्नु नपर्ने बताएको जापानले भाषा परीक्षा र सीप परीक्षणमा पास भए मात्रै पुग्ने जनाएको छ ।

    जापानले नेपालबाट १४ वटा क्षेत्रमा दक्ष र अदक्ष कामदार लैजाने सहमति गरे पनि पहिलो वर्ष नर्सिङ कियर गिभरको क्षेत्र छानेको हो । जापानले ५ वर्षभित्र नर्सिङ क्षेत्रमा ६० हजार विदेशी कामदार लैजाने नीति अघि बढाएको छ । नेपालबाट मात्रै लैजाने संख्या भने सार्वजनिक गरेको छैन । कम्पनीले माग गरेअनुसार कामदार छानिने मन्त्रालयको भनाइ छ ।

    जापानमा नेपाली कामदार सरकारी संयन्त्रबाटै पठाइनेछ । म्यानपावरको संलग्नतालाई स्वीकार गरिएको छैन । भाषा परीक्षण गर्न जापानले अन्तर्रा्ष्ट्रिय कम्पनी ‘प्रो म्याट्रिक कम्पनीलाई जिम्मा दिएको छ । सीप परीक्षण गर्न जापान फाउन्डेसनले पनि एउटा अन्तर्रा्ष्ट्रिय संस्थालाई तोकेको छ । सीप र भाषा दुवै कम्प्युटरमा आधारित हुनेछ । सहसचिव उमेश ढुंगानाका अनुसार परीक्षा सकिएलगत्तै परीक्षार्थीले पासफेल थाहा पाउनेछन, एकपटक भाषामा पास भएपछि त्यसले १० वर्षसम्म मान्यता पाउनेछ ।

    भाषा परीक्षाका लागि २५ सय, सीप परीक्षाका लागि एक हजार र नर्सिङ क्षेत्रका लागि एक हजार गरी ४ हजार ५ सय जापानी येन शुल्क लाग्नेछ । भाषा र सीप परीक्षणमा सहजीकरण गर्न वैदेशिक रोजगार विभागमा जापान एकाइ बनाइएको छ । सरकारी समझदारीअनुसार भिसा प्रक्रियामा लाग्ने सबै खर्च र टिकटको खर्च रोजगारदाताकै जिम्मेवारीभित्र पर्नेछ । जापानले ९ स्रोत मुलुकबाट ५ वर्ष्भित्र १४ वटा क्षेत्रमा ३ लाख ४२ हजार विदेशी श्रमिक लिने निर्णय गरेको छ । जापान फाउन्डेसन भाषाको जापानी भाषा केन्द्रले विशेष दक्ष कामदारलाई भाषा सिकाउन नेपाली प्रशिक्षकलाई तालिम दिने भएको छ । यो वर्ष झन्डै ४० जनालाई जापानमै लगेर तालिम दिने योजना बनाएको छ ।

    तीन वर्ष जापानी भाषा सिकाइरहेका र जापानमा कम्तीमा एक वर्ष काम गरेका वा बसेकाहरूले भाषा प्रशिक्षकका लागि आवेदन दिन पाउनेछन् । यसका लागि तालिम दिइने कार्यतालिकासमेत सार्वजनिक गरिएको छ । पहिलो चरण १९ नोभेम्बरदेखि १८ डिसेम्बर (२०१९), दोस्रोपटक ७ जनवरीदेखि ६ फेब्रुअरी (२०२०) र तेस्रोपटक १८ फेब्रुअरीदेखि मार्च १९ (२०२०) मा तालिम दिइनेछ । यो तीन वटा कार्यतालिकामा नेपाली प्रशिक्षकले भाग लिन पाउनेछन् ।

    पहिलो चरण हुने कार्यतालिकाको आवेदन दिने समय भदौ ३ सम्म छ । दोस्रो चरणका लागि असोज ३ सम्मको समय छुट्याइएको छ । जापानले गत अप्रिल १ देखि कृषि, नर्सिङ, सवारीसाधन मर्मतसम्भार, खाद्य सेवा उद्योग, निर्माण उद्योग, खाद्य पदार्थ, पेय पदार्थ र पेय उत्पादन, आवास उद्योग, मेसिनरी पार्ट उद्योग, माछा मार्ने र माछापालन उद्योग, औद्योगिक उपकरण, इलेक्ट्रिक, इलेक्ट्रोनिक्स र सूचना प्रविधि उद्योग, भवन सरसफाइ तथा व्यवस्थापन, जहाज र जहाज पार्टपुर्जा उद्योग एवं हवाई उद्योग गरी १४ क्षेत्रमा विदेशी श्रमिक लिने नीति लिएको थियो ।

    झन्डै ३० वर्षको अवधिमा जापानमा नेपालीको संख्या ८५ हजार ३ सय २१ हजार पुगिसकेको छ । सन् १९९० देखि नेपालीहरू जापान जान थालेका हुन् । त्यस वर्ष ४ सय ४७ जना नेपाली जापान गएका थिए । सन् २००० देखि विद्यार्थी भिसा, दक्ष कामदार र पारिवारिक भिसा लिएर जापान जान थालेका हुन् ।

    प्रतिकृया दिनुहोस