• राजनीति

    राजतन्त्र फेरि आउदैन : मन्त्री पण्डित

      ओमकार


    सुर्खेतमा गाईगोरुको सामूहिक हत्या भएको घटनामा सरकारले छानबिन गरिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले राजावादीहरुकाे षड्यन्त्रमा घटना भएको आरोप लगाएका छन् । मोरङको रंगेलीमा आयोजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रंगेली नगर कमिटीको सपथ ग्रहण समारोहमा मन्त्री पण्डितले ‘पब्लिक सेन्टिमेन्ट’ बटुल्न राजावादीहरुले यस्तो षड्यन्त्र गरेको आरोप लगाएका हुन् ।

    ‘गाई मार्ने काम गरेर मरिसकेको राजतन्त्रको अस्तुलाई जगाउँछु भन्ने सपना कसैले नदेखे हुन्छ, उनले भने, ‘राजतन्त्र फेरि आउँदैन, गणतन्त्र समाप्त हुँदैन । यो सरकारले त्यसो हुन दिँदैन ।’

    मन्त्री पण्डितले गाई हत्या गर्नेलाई मान्छे मारे सरह कारबाही गर्नुपर्ने बताए ।

    मन्त्री पण्डितले खटाएर ठाउँमा नजाने कर्मचारीप्रति सरकार कठोर ढंगले प्रस्तुत हुने चेतावनी पनि दिए ।

    कार्यक्रममा केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज घनेन्द्र बस्नेत, केन्द्रीय सदस्य गोपी अछामी, विनोद ढकाल, महेश रेग्मी, शिवकुमार मण्डललगायतका नेताले पार्टीबाट स्थानीय तहको प्रतिनिधित्व गर्ने सबै जनप्रतिनिधिलाई पार्टीले बनाउन लागेको कार्यविधिअनुसार काम गर्न निर्देशन दिए ।

    नेताहरुले विगतमा दुई पार्टी अलग अलग रहँदाका तिक्तता, मनमुटाव, रिस राग पार्टी एकतापछि समाप्त भएको भन्दै अब नयाँ ढंगले अघि बढ्नुपर्नेमा जोड दिए । उनीहरुले नेकपा नेतृत्वको सरकारले देशलाई विद्युत र औद्योगिक उत्पादनमा आत्मनिर्भर बनाउँदै लगेको दाबी गरे ।

    प्रतिकृया दिनुहोस