काठमाडौं।नेपाल-चीन व्यापारिक तथा आर्थिक सहयोग मञ्च-२०१९ शनिबार काठमाडौंमा आयोजना गरिएको छ। चीनका लागि नेपाली राजदूतावास र द इकोनोमिक जोइन्ट कमिटी अफ चाइना, कमर्सियल स्टक इन्टरप्राइजेजद्वारा आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल चीनबीचको प्राचीनकालदेखिको आवतजावतले अन्तर्देशीय सम्बन्धलाई मजबुत बनाएको बताउनुभयो। उहाँले यस्ता भ्रमणबाट आपसी सम्बन्ध सुदृढ पार्न मात्रै नभएर सहकार्यको ठोस आधार पनि तयार पारेको बताउनुभयो। उहाँले अगाडि भन्नुभयो, ‘नेपाल-चीन सम्बन्धका आयामहरू दुई देशबीचको जनस्तरीयदेखि विगतमा भएका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री लगायत नेपालबाट भएका भ्रमण र चीनबाट भएका उच्चस्तरीय भ्रमणबाट मित्रता बलियो र सहकार्यका आधार बनेका छन्।’
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चीनको आर्थिक विकासबाट नेपालले गर्व गरेको बताउँदै चीनले विश्वप्रति देखाएको शान्ति, स्थिरता र समृद्धिको भावनाले विश्वको दृष्टि चीनमाथि परिरहेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘चीनको विकासबाट नजीकको छिमेकी र असल मित्रको हैसियतले गर्व लागेको मात्रै होइन, विश्व शान्ति, स्थिरता र समृद्धिका निम्ति मानव जातिले अहिले चीनतिर आशा भरोसाको दृष्टिले हेरिराखको छ।’
चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले चीनले गर्ने निःसर्त सहयोगको प्रशंसा गर्नुभयो। उहाँले भन्नुभयो, ‘नेपालको आर्थिक सामाजिक विकासमा चीनले गरेको निःस्वार्थ सहयोग हाम्रा लागि महत्वपूर्ण छ।’
यसैबीच आयोजकले दिएको जानकारी अनुसार नेपाली र चिनियाँ व्यवसायीले चितवनमा संयुक्त रूपमा औद्योगिक क्षेत्रको निर्माण गर्ने सहमति पनि भएको छ।
प्रतिकृया दिनुहोस