• राजनीति

    संघीयता,धर्म निरपेक्ष,गणतन्त्र असफल भैसक्यो:कमल थापा

      ओमकार


    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गणतन्त्र, संघीयता र धर्म निरिपेक्षता असफल भइसकेको बताएका छन्। उनले देशका लागि अबको विकल्प राप्रपाले लिएको हिन्दु राष्ट्र र राजसंस्था निर्विकल्प बाटो भएको पनि जिकिर गरेका छन्। 

    राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको बुटवलमा आयोजित केन्द्रीय परिषद बैठकको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष थापाले गणतन्त्र, संघीयता र धर्म निरिपक्षेताबाट देश बनाउँछौं भन्‍ने, धर्म संस्कृति नष्ट गरेर मात्र देश बन्‍ने मान्यता राख्‍नेहरु असफल भइसकेको पनि दाबी गरेका छन्। 

    अध्यक्ष थापाले कांग्रेस र कम्युनिष्टले १२ वर्षदेखि देशलाई गलत बाटोबाट हिँडाएको बताउँदै हालकै बाटोलाई निरन्तरता दिने हो भने देश असफल राष्ट्र बन्‍ने ठोकुवा गरेका छन्।

    थापाले युवाहरुको रगत र पसिना निर्यात गरेर र नेपाली युवाहरुलाई मलेसिया र अरबको मरुभूमिमा पठाएर देशले समृद्धि हासिल गर्न नसक्ने समेत बताएका छन्। 

    थापाले देशमा लुटतन्त्र चलेको, भ्रष्टाचार बढेको सुन काण्ड, वाइड वडी काण्ड, बालुवाटारको जग्गा काण्ड लगायतका अनियमितता र भ्रष्टाचारमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षको समेत संलग्नता र सहमतिमा भएको आरोप लगाएका छन् ।

    गणतन्त्र ल्याउन विदेशी खुफिया एजेन्सीले देशको प्रधानमन्त्री भइसकेको र सत्तारूढ पार्टीको अध्यक्ष रहेका व्यक्तिलाई प्रयोग गरिएको भन्‍ने पुस्तकमार्फत् सार्वजनिक हुनु नेपालीको शीर निहुरिने विषय भएको बताउँदै अध्यक्ष थापाले यो संवेदनशील विषय भएकाले संसदीय छानबिनको माग गरेका छन्। 

    प्रतिकृया दिनुहोस