• मुख्य

    सहकारीको ५२ करोड अपचलन गरेको आरोपमा २ वडा अध्यक्ष बिरुद्ध पक्राउ पुर्जी जारी

      ओमकार


    काठमाडौं :  सहकारी संस्थाको ५२ करोड रुपैयाँ अपचलन गरेको आरोपमा नेपालगञ्ज उपमहानगरपालिकाका दुई वडाध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ।

    जिल्ला प्रहरी कार्यालय बाँकेले वडा नं १७ का अध्यक्ष अजयकुमार पाठक र वडा नं १८ का अध्यक्ष दीपकुमार बर्माविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। 

    सहकारी वित्तीय विकास संस्था लिमिटेडको तत्कालीन सञ्चालक समितिमा रहेका दुवैजनाले ५२ करोड रुपैयाँ रकम अपचलन गरेको आरोपमा उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। 

    दुवै वडाअध्यक्ष सम्पर्कमा नरहेको र खोजी भइरहेको जिल्ला प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए। पाठक सहकारी संस्थाको उपाध्यक्ष र बर्मा कार्यसमिति सदस्य तथा कर्जा लगानी उपसमितिमा रहेका थिए।

    सहकारी सञ्चालक समितिका केही पदाधिकारीलाई प्रहरीले पक्राउ गरेर थुनेको र केही फरार रहेपछि सहकारी अहिले बन्द छ।

    प्रहरी नायव उपरीक्षक सापकोटाले रकम अपचलन अभियोग लागे पनि अध्यक्षद्वयले के-कति रकम अपचलन गरेको भन्ने अहिले नै स्पष्ट नभएकाले यसबारे थप अनुसन्धानपछि मात्रै यकिन तथ्य खुल्ने बताए। प्रहरीले पक्राउ पुर्जी जारी भए लगत्तै वडाध्यक्षद्वय पाठक र बर्मा भारततिर फरार भएको हुनसक्ने प्रहरीको आशंका छ।

    सहकारीको रकम अपचलन मुद्दाको अनुसन्धान गर्ने क्रममा यसअघि प्रहरीले उक्त सहकारीका कर्मचारी रहेका वडाध्यक्ष बर्माका दाजु मुख्य आरोपी अरुणकुमार बर्मासहित गङ्गाधर सुवेदी, गोपाल भण्डारी, स्थीरमणि बज्राचार्य, प्रकाश चौधरी र बलराम यादवलाई पक्राउ गरिसकेको छ। 

    सहकारीका अध्यक्ष हरदेवबक्स चौधरीलगायतका अरु सञ्चालक पनि सम्पर्कविहीन रहेकाले उनीहरुको खोजी तीव्र पारिएको बाँके प्रहरीले जनाएको छ। ११ हजार ४०८ जना निक्षेपकर्ता रहेको सहकारीको नेपालगन्ज, खजुरा र बैजापुरमा शाखा रहेको थियो। 

    बाँके प्रहरीले सूचना जारी गर्दै बचतकर्ताहरुलाई आफूसँग भएको प्रमाणसहित आउन आग्रह गरिसकेको छ। सहकारी सञ्चालक समितिका केही पदाधिकारीलाई प्रहरीले पक्राउ गरेर थुनेको छ। 

    प्रतिकृया दिनुहोस