• खेलकुद

    विश्वकप फुटबल छनौटमा कुवेत बिरुद्ध स्ट्राइकर नवयुग नखेल्ने सम्भावना

      ओमकार


    काठमाडौं : विश्वकप फुटबलको एसियाली छनोटमा नेपालले बिहीबार कुवेतसँग खेल्दै यात्रा थाल्दै छ। पहिलो खेल खेल्न नेपाली टोली कुवेतमा पुगिसकेको छ। बुधबार आयोजित प्रि म्याच कन्फेरेन्समा नेपाली टोलीका प्रशिक्षक जोहान कालिनले कुवेतविरुद्ध टोलीले सक्दो प्रयाश गर्ने बताए।

    ‘हामीसँग यहाँ पर्याप्त स्रोत छैन तर खेलाडीले सक्दो मिहेनत गरेका छन्। कुवेत बलियो टोली हो। तर हामी राम्रो खेल्ने प्रयाश गर्ने छौँ’, प्रि म्याच कन्फेरेन्समा कालिनले भने। यसैगरि नेपाली टोलीका कप्तान किरण चेम्जोङले कुवेतको सामना गर्न तयार रहेको बताए। प्रशिक्षक कालिनसँग सहमत हुँदै उनले कुवेत बलियो प्रतिद्धन्द्धी भएको स्विकार गरे।

    कुवेतका प्रशिक्षक राज्को माजिचले नेपाल राम्रो टोली रहेको बताए। उनले विश्वकप छनोटका लागि १३ महिनायता तयारी गरिरहेको बताए। ‘ हामी नेपालविरुद्ध मात्र होइन छनोटका सबै खेलका लागि तयार छौँ’, माजिचले भने।

    नेपाली टोलीका स्ट्राइकर नवयुग श्रेष्ठ विरामी भएको कारण भोलीको खेलमा उत्रनेबारे अन्योल रहेको बताइएको छ। नवयुग नेपाली टोलीका सबैभन्दा अनुभवी स्ट्राइकर हुन्। उनको नाममा १२ अन्तर्राष्ट्रिय गोल छ।  एसियाली छनोटको दोस्रो चरणको समूहगत खेलमा नेपाल भिड्न लागेको हो। नेपाल रहेको समूहमा अस्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेई पनि छन्। प्रतियोगिता होम एन्ड अवे आधारमा हुने छ। समूहका शीर्ष दुई टोली तेस्रो चरणमा पुग्नेछन्।

    समूहको दोस्रो खेलमा नेपालले अर्को साता प्रतिस्पर्धा गर्ने छ। नेपालले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा पछिल्ला सात खेलयता जित हात पार्न सकेको छैन। यसबीचमा नेपालले पाँच हार र दुई बराबरीको नतिजा निकालेको छ। नेपालले अन्तिमपटक हात पारेको जितमा गत आजभन्दा ठिक एक वर्षअघि बंगलादेशलाई २-० गोलले पराजित गरेको थियो।

    कुवेत पछिल्लो खेलमा बहराइनसँग १-० गोलले पराजित भएको थियो। उसले पछिल्ला ९ अन्तर्राष्ट्रिय खेलमा तीन जित, चार हार र दुई बराबरीको नतिजा निकालेको छ।

    नेपाल र कुवेतबीच गत मार्चमा भएको दुई वटा मैत्रिपुर्ण खेलमा कुवेतले एक जित र एक बराबरीको नतिजा निकालेको थियो। एउटा खेल गोलरहित बराबरीमा सकिएको थियो भने अर्को खेलमा कुवेत १-० गोलले विजयी भएको थियो।

    प्रतिकृया दिनुहोस