उदयपुरः उदयपुरको चौदण्डीगढी नगरपालिका ३ हात्तिसारमा गोरु काटेकोको आरोपमा बाबु छोरासहित चार पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गोरु काट्दै गरेको आरोपमा पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिकृष्ण केसीका अनुसार स्थानीय ५० वर्षीय रामप्रसाद राई, उनका २५ वर्षीय छोरा प्रमीन राई, २१ वर्षीय मनिष राई र ५६ वर्षीय रामकुमार राई पक्राउ परेका छन।
‘मासु खाने र बिक्री प्रयोजनका कालो रंगको गोरु काटेको सूचनाको आयो’, उनले भने, ‘चारै जनालाई आइतबार अदालतबाट म्याद थपी अनुसन्धान भइरहेको छ।’ उनका अनुसार मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ अन्तर्गत पशुपंक्षीसम्बन्धी कसुरको दफा २८९ को गाई मार्न वा कुटन नहुने अभियोगमा मुद्दा चलाइएको छ।
मुलुकी अपराध संहिता अनुसारको गाई वा गोरु मार्न वा कुटन नहुने कसुर गर्नेलाई तीन वर्षसम्म कैद हुने व्यवस्था छ। पक्राउ परेका व्यक्तिको साथबाट १०६ केजीको गोरुको मासु समेत बरामद गरिएको र जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान थालिएको प्रहरीले इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धिराम चौलागाईले जानकारी दिए।
प्रतिकृया दिनुहोस