काठमाडौँ । एकताका लागि लामो समयदेखि समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच अनौपचारिक वार्ताको शृङ्खला जारी छ । यसैबीचमा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले गरेको एक प्रस्तावले राजपा नेपालका नेताहरु अचम्ममा परेका छन् ।
दुई पार्टी एक भएपछि त्यसमा चारजना अध्यक्ष रहने जसमा पहिलो वरियताक्रममा महन्थ ठाकुर, दोस्रो वरियाताक्रममा डा.बाबुराम भट्टराई, तेस्रो वरियाताक्रममा उपेन्द्र यादव र चौथो वरियाताक्रममा राजेन्द्र महतो रहने चर्चा चलिरहेको थियो । यिनै कुराहरु सञ्चारमाध्यममा लगातार प्रेषित भइरहेको थियो ।
तर भदौ १२ गते समाजवादी पार्टीको पार्टी कार्यालयमा भएको औपचारिक वार्तामा उपेन्द्र यादवले गरेको लिखित प्रस्तावका कारण राजपा नेपालका नेताहरु अच्चममा परेका छन् ।
बैठकमा सहभागी एक नेताका अनुसार महन्थ ठाकुरलाई मनार्थ अध्यक्ष र डा.बाबुराम भट्टराई वरियाताक्रमको पहिलो नम्बरका अध्यक्ष तथा उपेन्द्र यादव दोस्रो वरियाताक्रमको अध्यक्ष रहने समाजवादी पार्टीबाट प्रस्ताव गरिएको छ ।
त्यस्तै, राजेन्द्र महतोलाई अशोक राईपछिको वरिष्ठ नेता दिएको छ । महतोलाई वरिष्ठ नेताको साथै पार्टीका सम्पूर्ण समिति तथा विभागलाई हेर्ने इन्चार्जको जिम्मेवारी दिने प्रस्ताव गरिएको छ ।
राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादव र शरतसिंह भण्डारीलाई सचिवालय सदस्य दिने प्रस्ताव गरिएको ती नेताको दावी छ ।
प्रतिकृया दिनुहोस