काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले राजावादीलाई राजतन्त्र फर्काउन चुनौती दिएका छन्।एक टेलिभिजन बहसमा सहभागी भएका बेला खनालले राजावादीलाई यस्तो चुनौती दिएका हुन्। संसदमा दुई तिहाई मत ल्याएर संविधान संशोधन गरी राजतन्त्र फर्काउन उनको चुनौती छ।
राजतन्त्र फर्किने विषयमा सोधिएको प्रश्नमा अभिव्यक्ति दिँदै अहिले राजतन्त्रवादी मूसा सरह रहेको र गणतन्त्र तीन करोड नेपालीले अनुमोदन गरेको पहाड भएकाले मूसाले कहिले पनि भत्काउन नसक्ने तर्क गरे।
“ज्ञानेन्द्रको के कुरा राजतन्त्रवादी मूसा भन्दा केही होइनन् ।”,उनले भने,”पहाडलाई मूसाले हल्लाउन सक्दैन, प्वाल पार्न सक्छ ।संविधानले दुई तिहाई ल्याए पद्धति बदल्न सक्ने ठाउँ दिएको हुँदा राजावादीलाई त्यसो गर्न उनले चुनौती दिए।
“संविधानसभाले बनाएको संविधानलाई मानेर चुनाव लडेर दुई तिहाई मत ल्याएर संविधान बदल्न सकिन्छ”,खनालले भने, “राजावादीका लागि त्यो बिल्कुल सम्भव छैन ।”
यस्तै खनालले ९९ प्रतिशत जनता गणतन्त्रको पक्षमा रहेको पनि दावी गरेका छन्। औंलामा गनिने मान्छेहरु गणतन्त्रविरोधी भएको र अधिकांश जनता गणतन्त्रकै पक्षमा रहेको उनको दावी छ।राजावादीलाई खनालले राजतन्त्रका अवशेष, तुष, घाउ र खाटाको संज्ञा दिएका छन्। घाऊ कहिलेकाहीं धेरै चम्कने उल्लेख गर्दै राजावादीहरु पनि त्यस्तै रहेको खनालले बताए।
प्रतिकृया दिनुहोस