• समाचार

    वाडाध्यक्षले खाए आफ्नै मतदाताको कुटाइ

     


    जुम्ला । पातारासी गाउँपालिका–४ का वडाध्यक्ष कालीबहादुर रावतमाथि लुमगाउँका बासिन्दाले बुधबार कुट पिट गरेका छन् । बागजाले सामुदायिक वनको अवैध जडीबुटी चोरी निकासीमा वडाध्यक्षको संलग्नता रहेको भन्दै लुमगाउँका स्थानीयले कुट पिट गरेका हुन् । लुमगाउँका स्थानीयवासीले वडाध्यक्ष रावतमाथि हातपात गर्नु साथै अभद्र व्यवहार गरी कठालो समातेर कमिज च्यातेको आरोप छ ।कालीबहादुर रावललगायतका स्थानीयवासीको अगुवाइमा वडाध्यक्षमाथि लुमगाउँका स्थानीयले हातपात गरेको आरोप लगाइएको छ ।स्थानीयवासीले वडाध्यक्ष रावतविरुद्ध नाराबाजी गर्दै पदबाट राजीनामा दिन मागसमेत गरेका छन् । सामुदायिक वनमा पाइने सेतोचिनी (खिरौँला) चोरी निकासीमा वडाध्यक्षको प्रत्यक्ष सहभागिता रहेको लुमगाउँका स्थानीयवासीको आरोप छ ।जनप्रतिनिधि नै अवैध कारोवारमा संलग्न भएको आरोपमा गाउँ नै वडाध्यक्षको विरुद्धमा छ ।

    कुट पिट घटनाका आरोपित कालीबहादुर रावलले वडाध्यक्ष रावत जडीबुटी चोरी निकासीमा संलग्न रहेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “यस विषयमा वडाध्यक्षसँग भनाभन भएको हो तर हातपात र कुट पिट भएको छैन ।” गाउँमा विवाद भएको समयमा प्रहरी नआउने र वडाध्यक्षले बोलाएको अवस्थामा आएपछि प्रहरीलाई गाउँबाट लखेट्नुपर्ने स्थिति सिर्जना भएको उहाँले बताउनुभयो ।

    गाउँबाट वडाध्यक्ष रावत विस्थापित ः वडाध्यक्ष कालीबहादुर रावतले अवैध जडीबुटी चोरी निकासीमा आफ्नो संलग्नता नरहेको बताउनुभयो । उहाँका अनुसार स्थानीय सरकारको समन्वय र सहकार्यमा सामुदायिक वनको जडीबुटी चोरी निकासी रोक्न खोज्दा कालीबहादुर रावललगायतको टोलीले हातपात गरी कुट पिट गरेका हुन् । हातपात गरी दुर्व्यवहार गर्दा गाउँमा बस्ने वातावरण सहज नभएका कारण सुरक्षाका लागि जिल्ला सदरमुकाम खलङ्गा बजारमा बस्दै आएको उहाँले बताउनुभयो ।

    बागजाले सामुदायिक वनमा पाइने जडीबुटीको अवैध चोरी निकासी भएको सूचना स्थानीयवासीबाट आएकाले दुईपटक प्रहरी लिएर वनमा गएको उहाँको भनाइ छ । वडाध्यक्ष रावतले स्थानीयवासीले लगाएको आरोप न्यायिक निकायले दोषी ठहर्‍याए कानूनबमोजिम कारवाही भोग्न र वडाध्यक्षको पदबाट राजीनामा दिन तयार रहेको बताउनुभयो ।

    ज्यान असुरक्षामा रहेको बताउँदै वडाध्यक्ष रावतले गाउँ नै आफूमाथि खनिएकाले घर छोडेर विस्तापित हुनुपरेको बताउनुभयो । सुरक्षाका लागि डिल्लीचौर प्रहरी चौकीबाट गएका प्रहरीमाथि लुमगाउँका स्थानीयवासीले ढुङ्गामुढा गरेका छन् । वडाध्यक्षमाथि हातपात भएको विषयमा बुझ्न गएका प्रहरीमाथि स्थानीयवासीले ढुङ्गामुढा गरेका हुन् ।

    डिल्लीचौर प्रहरी चौकीका इन्चार्ज प्रेमबहादुर थापाले लुमगाउँका स्थानीयवासीले आफूहरुमाथि ढुङ्गामुढा गरेको बताउनुभयो । सुरक्षाका लागि गएको प्रहरी टोलीमाथि ढुङ्गामुढाका साथै हातपातसमेतको प्रयास भएको इन्चार्ज थापाले बताउनुभयो । वडाध्यक्षमाथिको हातपात घटनाका विषयमा मौखिकरूपमा जानकारी भएको प्रहरी निरीक्षक नवीन वलीले बताउनुभयो । उहाँले भन्नुभयो, “जाहेरी आएपछि सोहीअनुसार कानूनी प्रक्रियाअनुसार काम हुने उहाँको भनाइ छ ।

    सामुदायिक वनमा करोडौँको कारोवार हुने गर्दछ तर केही सामुदायिक वनले राम्रो काम गरे पनि धेरै सामुदायिक वनमा पारदर्शिता देखिँदैन । सामुदायिक वन उपभोक्ता समितिले नियमित बैठक, सार्वजनिक सुनुवाइ, आन्तरिक तथा बाह्य लेखा परीक्षण कुनै पनि गरेको पाइँदैन । वार्षिक आम्दानीको ३५ प्रतिशत विपन्न घरपरिवारका लागि आयआर्जन, २५ प्रतिशत वन विकास र ४० प्रतिशत सामाजिक विकासका लागि खर्च गर्नुपर्ने सामुदयिक वनको विधानमा उल्लेख भए पनि व्यवहारमा देखिने गरेको छैन ।

    सामुदायिक वन उपभोक्ता महासङ्घ जुम्लाका अध्यक्ष चौलागार्इले भन्नुभयो, “पातारासी गाउँपालिकामा २६ सामुदायिक वन छन् । तिनै सामुदायिक वनका जडीबुटी र काठबाट वार्षिक एक करोड रुपैयाभन्दा बढी आम्दानी हुने गर्दछ । तर आम्दानी रकम कहाँ कति खर्च र कति बचत छ भन्ने कुनै हिसाब हुने गरेको छैन ।” सामुदायिक वनमा वातावरण प्रभाव मूल्याङ्कन गरी जडीबुटी उत्खनन गर्ने कानूनी प्रवधान भए पनि जथाभावी जडीबुटीको बीउ नै मासिने गरी उत्खनन हुने गरेको छ । यस विषयमा नियमनकारी निकाय पनि मौन रहेको उहाँको भनाइ छ । अब यसलाई व्यवस्थित गर्नका लागि स्थानीय सरकार नै बढी चनाखो हुनुपर्ने देखिन्छ । रासस

    प्रतिकृया दिनुहोस