• विदेश

    बेलायतमा संसद निलम्बन गर्न महारानीले दिइन् अनुमति

     


    काठमाडौं- बेलायतकी महारानी एलिजावेथ द्वितियले त्यहाँको संसद निलम्बन गर्नका लागि सरकारको तर्फबाट गरेको सिफारिसलाई अनुमति दिएकी छन्।

    महारानीको अनुमतिपछि अब प्रधानमन्त्री बोरिस जोनसनलाई सहज भएको छ। उक्त अनुमतिपछि आउँदो सेप्टेम्बरपछि बेलायतको संसद्‌ निलम्बनमा जानेछ। बेलायतमा प्रधानमन्त्री बोरिस जोहन्सनले संसद् निलम्बन भएपछि १४ अक्टोबरका दिन महारानीको सम्बोधन हुने पनि जनाएका छन्।

    संसद् भंग गर्ने सरकारको निर्णयलाई लिएर विपक्षी दलले भने कडा आलोचना गरेका छन्। टोरी पार्टीका ब्याक बेन्चर डोमिनिक ग्रिबले सरकारको यो कदमलाई अपमानजनक भएको बताएका छन्। यस घटनाले जोनसनको सरकार तल गिरेको उनको दाबी छ। यो कदम अलोकतान्त्रिक भएको पनि सांसदहरुले बताएका छन्।

    तर, प्रधानमन्त्री जोनसनले भने देशलाई अघि लैजानको लागि यो कदम चाल्न आवश्यक भएको भन्दै आफ्नो बचाउ गरेका छन्। उनले संसद्‌समक्ष बेलायतलाई युरोपेली संघ (इयू)बाट बाहिर ल्याउनको लागि पर्याप्त समय भएको समेत बताए। बेलायत इयुबाट बाहिरिने मिति अक्टोबर ३१ हो।

    संसद्‌मा ब्रेक्जिट डिलको बारेमा अवरोध हुनसक्ने कुरालाई मध्यनजर राख्दै सरकारले संसद् निलम्बन गरेको हो।

    ‘नो ब्रेक्जिट डिल’ भन्दै संसद्‌मा अवरोध र सरकारको विरोध हुने देखिएपछि यस्तो तयारी सरकारले गरेको हो।

    प्रतिकृया दिनुहोस