भाद्र ११- गौरादह नगरपालिका वार्ड नम्बर ६ मा रहेको अादर्श कोहवरा मुल कृषक समूह मार्फत सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा आर्थिक अनियमितता भएको स्थानीयले आरोप लगाएका छन् । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना संचालनको लागि कृषि ज्ञान केन्द्र मार्फत प्राप्त २५ लाख र स्थानीय कृषकबाट संकलित ९ लाख २१ हजार ४ सय पचास रुपैयाँ दुरुपयोग भएको स्थानिय कृषकहरुले आरोप लगाएका छन् ।
हामीले पटक पटक हिसाब सार्वजनिक गर्न अनुरोध गर्यौं तर वहाँहरुले सुन्न चाहनु भएन, युवा कृषक मनोज सिटौला बताउँछन् । वडा कार्यालयले पत्र काटेपछि समितिले आम्दानी र खर्चको विवरण बुझाएको पाइएको छ ।
विवरण अपारदर्शी देखिएकोले वडा कार्यालयले पुन: अर्को विवरण मागेको थियो । वडा कार्यालयलाई प्राप्त विवरणमा केहि शिर्षक थपघट गरेर हिसाब मिलाउन प्रयास गरिएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन् । स्थानीय कृषक चन्द्र सिटौला अनियमितता भएको स्पष्ट देखिएको भन्दै आफुहरु चुपलागेर नबस्ने र न्यायको लागि अख्तियारमा अपिल गर्ने बताउछन् । निम्न आय भएका कृषकलाई लक्षित गरेर सञ्चालित कार्यक्रममा केहि व्यक्तिबाट चरम घोटाला भएको र यथासिघ्र छानबिन हुनुपर्ने उनले माग गरेका छन् । गैर कृषकले समेत सुबिधा पाएको भन्दै उनले कडा प्रतिकार गर्ने बताएका छन् ।
१६५०प्रतिगोटामा पाईने स्प्रे ट्यांकी रु. २००० प्रतिगोटाको दरले ७२ वटा बिक्री गरेको पाईएको छ । ओमकार टाइम्सले अनियमितता भएको खवर छापेपछी उक्त क्षेत्रमा अहिले खैला बैला मच्चिन थालेको छ । सञ्चारकर्मीहरुको स्ट्रीङ अप्रेशनमा समेत समितिका केहि सदस्यले आफुहरु बाट लापबाही नै भएको स्विकार्दै समस्या सुल्झाइदिन आग्रह गरेका छन् ।
जैविक मलमा २ लाख रुपैया छुट्याएता पनि अहिले सम्म मल कसैले नपाएको कृषकहरु बताउँछन् । पानी तान्ने मोटरको लागि बोरिङ गाड्न पनि अनियमितता भएको स्थानिय कृषक बताउँछन् । बोरिङ गाड्ने ज्याला ७ हजार प्रति बोरिङ रहेता पनि १० हजारको दरले खर्चमा उल्लेख गरिएको छ। आम्दानी खर्च विवरणमा प्रति बोरिङ बराबर ७० फिट उल्लेख गरिएको छ । पानीको लेयर सबैतिर एकैनासको नहुने अनुभवीहरु बताउँछन् । कतिपय बोरिङहरु ४५/५० फिट मात्र गाडिएको तर हिसाबमा भने ७० फिट देखाइएको पाइएको छ ।
३ लाख २० हजार भ्रमण खर्च भनेर देखाईएता पनि भ्रमणको कुनै उपलब्धि नरहेको स्थानिय कृषक बताउछन् । गर्दै नगरिएको तालिम र गोष्ठी भनेर २ लाख रुपैयाँ छुट्याइएको छ । आम्दानी र खर्च बिच पनि समानता नदेखिएको हुनाले अनियमितता भएको पुष्टि हुन्छ ।अाम्दानी ३४ लाख २१ हजार ४ सय पचास रुपैयाँ देखाईएको छ भने खर्च ३६ लाख ३५ हजार ३ सय ८० देखाईएको छ ।
यसै सन्दर्भमा उक्त कृषक समुहको अध्यक्ष कामेश्वर राजवंशीसंग सम्पर्क गर्दा उनले प्राबिधिक त्रुटी भएको, बताएका छन् । हिसाबमा नदेखिएको भएतापनि समितिको दैनिक कार्य सञ्चालन गर्न केहि पैसा जगेडा गरेर राखिएको उनको जवाफ छ । विभिन्न कार्यालय धाउनुपर्छ, पैसा सबै खर्च गरेर हुदैन नी?, अध्यक्ष राजवंशीले भनें ।
अनियमितता भएको छैन, लेखासमितीको प्रतिवेदन आएपछि सवै कुरा खुल्छ, राजवंशीले भने ।
यसै बिषयमा ६ नम्बर वार्डका वार्ड अध्यक्ष खड्ग पराजुलीसंग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
यस सन्दर्भमा हाम्रो खबरदारी निरन्तर रहनेछ
प्रतिकृया दिनुहोस