काठमाडौ : प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र पूर्वप्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता माधव नेपालबीच बालुवाटारमा बिहीबार बसेको बैठकमा बाझाबाझ भएको छ ।
उपचारका लागि सिंगापुर जानु एक दिनअघि ओलीले नेकपा सचिवालय बैठक बोलाएका थिए । बैठकमा दुई नेताबीचको झगडा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलाएका थिए । बैठकको आरम्भमै ओलीले लामो समय बैठक नबस्ने भन्दै आफूलाई स्वास्थ्य लाभको कामना गर्न नेताहरुलाई आग्रह गरेका थिए ।
ओलीले बिहीबार बैठकको सुरुआत मात्र गर्ने र अर्का अध्यक्ष प्रचण्डले बैठक बसाउने भन्दै आवश्यक परे आफू सिंगापुरबाटै टेलिफोनमा उपलब्ध हुने बताए । ओलीले कुरा सक्न नपाउँदै वरिष्ठ नेता माधव नेपाल जंगिए । ‘यसरी हुँदैन, पार्टीका धेरै गलत निर्णय भएका छन् । तिनलाई सच्याउनुपर्छ ।’ नेता नेपाल बोल्दै गर्दा ओेली झोक्किए । ‘तपाईंको यो तरिका ठीक भएन ।
तपाईंको नियत मैले राम्रैसँग बुझेको छु । मलाई तपाईंको शुभकामना पनि चाहिएन’, ओलीको भनाइ उद्धृत गर्दै एका नेताले भने । दुई नेताबीच झगडा परेपछि अर्का अध्यक्ष प्रचण्डले त्यसो नगर्न भनेका थिए । खास गरी उनले माधव नेपाललाई धेरै आवेगमा नआउन सचेत गराए ।
नेता नेपालले सांसद राजेन्द्र गौतमले आफ्ना विषयमा फेसबुकमा जथाभावी लेखेकाले कारबाही हुनुपर्ने अडान पनि राखे । तर, ओलीले आफ्नो असहमति पार्टीमा नभई पत्रिकामार्फत राख्नेले अरुलाई प्रक्रिया र पद्दति सिकाउन नमिल्ने भन्द्र प्रतिवाद गरे ।
तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बन्दा नेता नेपाल पार्टीको तेश्रो वरियतामा थिए । तर, केही दिनअघि सचिवालय बैठकले झलनाथ खनाललाई तेश्रो र नेपाललाई चौथो वरियतामा राखेपछि उनी ओलीसँग आक्रोशित छन् ।
प्रतिकृया दिनुहोस