• विदेश

    फिलिपिन्समा डेङ्गुबाट आठ महिनामा ८०० जनाको मृत्यु

      ओमकार



    एजेन्सी । फिलिपिन्समा यस वर्षका प्रथम आठ महिनामा डेङ्गु रोगीको संख्या एक लाख ८८ हजार पुगेको स्वास्थ्य विभागले जनाएको छ । विभागका अनुसार डेङ्गुकै कारण ८०७ जनाको मृत्यु भएको छ ।

     

    विभागले यस वर्षको जनवरी १ देखि अगस्ट ३ सम्मको अवधिमा एक लाख ८८ हजार ५६२ जनामा डेङ्गु रोग भेटिएको विवरण संकलन गरेको छ । गत वर्षको यही अवधिमा ९३ हजार १४९ जना डेङ्गुका बिरामी फेला परेका थिए । डेङ्गुका बिरामी दोब्बरले वृद्धि भएको फिलिपिन्समा सन् २०१८ को तुलनामा मृत्यु भएकाको संख्या पनि झण्डै दोब्बरले वृद्धि भएको छ । गत वर्ष ४९७ जनाको डेङ्गुकै कारण मृत्यु भएको थियो ।

     

    स्वास्थ्य सेवा विभागले फिलिपिन्सका मध्य र दक्षिणी क्षेत्रमा डेङ्गुको महामारी देखिएको जनाएको छ । विभागले डेङ्गुबाट बिरामी हुनेहरुमा सबैभन्दा बढी पाँचदेखि नौ वर्ष उमेरका बालबालिकामा देखिएको जनाएको छ । यो उमेर समूहमा करिब २३ प्रतिशत बिरामी देखिएका छन् । स्वास्थ्य मन्त्रालयका उपसचिव एरिक डोमिङ्गोले डेङ्गुका बिरामीको संख्या निरन्तर वृद्धि भइरहेको जानकारी दिनुभयो । उहाँले डेङ्गु रोग फैल्याउने लामखुट्टेको बासस्थान नष्ट गर्न र सफाईमा विशेष ध्यान दिन आग्रह गर्नुभयो ।

     

    गत अगस्ट ६ मा फिलिपिन्स सरकारले डेङ्गुको महामारी देशव्यापी रहेको भन्दै संकटकाल घोषणा गरेको थियो । स्वास्थ्य सेवा विभागले वर्षादको मौसममा आगामी अक्टोबरसम्म लामखुट्टे धेरै बढ्ने भएकाले डेङ्गु फैलन सक्ने भन्दै थप सतर्कता अपनाउन सर्वसाधारणलाई आह्वान गरेको छ ।

    प्रतिकृया दिनुहोस