• समाचार

    डेढ क्विन्टल गाँजासहित चालक पक्राउ

      ओमकार टाईम्स


    ट्याक्टरमा लोड गरेर भारततर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले सोमबार साँझ विराटनगरबाट ठूलो परिमाणको लागुऔषध गाँजा बरामद गरेको छ । विराटनगरस्थित सशस्त्र प्रहरी बल नेपाल रानी बोर्ड आउट पोस्टले १ सय ४६ किलोग्राम लागुऔषध गाँजा बरामद गरेको हो ।

    को २ त ६०५७ नम्बरको ट्याक्टरमा लैजाँदै गरेको गाँजासहित सुनसरीको गढी गाउँपालिका- ३ का ३४ वर्षीय चालक सुरेशकुमार मेहतालाई पनि सशस्त्रले नियन्त्रणमा लिएको छ । धरान, इटहरी र दुहवी हुँदै विराटनगर भित्र्याइएको गाँजा नियन्त्रणमा लिन परिचालित भएको प्रहरीले ठूलो परिमाणको गाँजा बरामद गरेको हो ।

    विराटनगर- १७ स्थित एकीकृत जाँच पास चौकी (आईसीपी) जाने सडकबाट ट्याक्टर, चालक र ठूलो परिणामको गाँजा बरामद भएको सशस्त्र प्रहरी बल नेपाल मोरङका प्रमुख प्रहरी उपरीक्षक तीर्थ पौडेलले जानकारी दिए । उनका अनुसार प्लाष्टिकमा प्याक गर्दै ट्याक्टरको पछाडिको ट्रलीमा ‘फल्स बटन’ बनाएर लुकाएको अवस्थामा गाँजा बरामद भएको हो ।

    ट्याक्टरलाई विराटनगर- १८ भेडियारी पुर्‍याएबापत १० हजार दिने सर्त रहेको चालकको भनाइ छ । धनकुटामा अवैध रूपमा उत्पादन हुँदै आएको गाँजा निषेधाज्ञाको समयमा चलाखीपूर्ण तरिकाले भारत कटाउन खोजिएको सशस्त्र प्रहरीले जनाएको छ ।

    सशस्त्रले ट्याक्टरसहित चालकलाई सोमबार राति आवश्यक कारबाही अघि बढाउन इलाका प्रहरी प्रहरी कार्यालय रानीको जिम्मा लगाएको छ । रानीका प्रहरी निरीक्षक दीपक थापाले चालकविरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइने जानकारी दिए ।

    प्रारम्भिक अनुसन्धानबाट गाँजा लोड गरेको ट्याक्टर विराटनगरसम्म अर्कैले ल्याएको देखिएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस