काठमाडौँ : कतार सरकारले आप्रवासी श्रमिकको तलब वृद्धि र रोजगारदाता परिवर्तन गर्न पाउने व्यवस्था गरेको छ । कतारले कानुन नं १८, २०२० कार्यान्वयन गर्दै आप्रवासी श्रमिकले रोजगारदाताको अनुमति नलिइकनै पनि अबदेखि रोजगारी परिवर्तन गर्न पाउने व्यवस्थाको निर्णय गरेको हो । आइतबार अर्थात् ३० अगस्ट २०२० का दिन यी विषय समेटिएका दुई कानुनमा कतारका अमिरले हस्ताक्षर गरेसँगै कानुनमा रूपान्तरण भएको हो ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)ले कतार सरकारले गरेको यस निर्णयको स्वागत गर्दै यसलाई ऐतिहासिक परिवर्तन संज्ञा दिएको छ । साथै आईएलओले कतार सरकारको यस प्रकारको निर्णयले कतारको श्रम बजारमा नयाँ युग सुरु हुने विश्वाससमेत व्यक्त गरेको छ ।
आईएलओले रोजगारदाता परिवर्तन गर्न आफूले काम गरिरहेको रोजगारदाताको अनुमति चाहिने व्यवस्था खारेज तथा खाडी क्षेत्रमा नै भेदभावरहित न्यूनतम ज्याला कार्यान्वयन गरेको जनाएको छ । पछिल्लो समयमा सन् २०२२ मा हुने विश्वकप फुटबल प्रतियोगिता आयोजनालाई प्रतिष्ठाको विषय बनाएको कतारले आइतबार जारी गरेका दुई कानुनलाई त्यसैका उपलब्धिका रूपमा पनि लिइएको छ ।
यसैगरी कतार सरकारको निर्णयलाई अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घ (आईटीयूसी)ले खाडी क्षेत्रमै न्यूनतम ज्याला निर्धारण गरेर कतारले ऐतिहासिक काम गरेको भन्दै त्यस निर्णयको स्वागत गरेको छ । कतारले लागू गरेको नयाँ कानुनले रोजगारदाताको आप्रवासी श्रमिकमाथिको नियन्त्रण सदाका लागि अन्त्य हुने आईटीयूसीले विश्वास लिएको छ ।
यसअघि नै स्पोन्सरसिप प्रणाली (कफाला) हटाउने घोषणा गरिसकेको कतारले यसैगरी कानुन नं. १७, २०२० लागू गर्दै न्यूनतम तलब तोकेको छ । सो कानुनअनुसार अब कतारमा न्यूनतम तलब एक हजार रियाल हुनेछ । यो निर्णय सरकारी राजपत्रमा प्रकाशित भएको छ महिनाभित्रमा लागू हुने व्यवस्था छ । यो निर्णय सबै श्रमिकलाई लागू हुने जनाइएको छ ।
यसैगरी कतारमा हरेक श्रमिकलाई आवासका लागि प्रतिमहिना पाँच सय रियाल तथा खानाका लागि तीन सय रियाल थप दिनुपर्ने छ । यससँगै कतारमा खाना तथा आवाससहित न्यूनतम तलब एक हजार आठ सय रियाल हुनेछ । सन् २०१७ जुन ९ देखि छिमेकी मुलुकको कडा नाकाबन्दी खेपिरहेको कतारले यस निर्णयसँगै ती मुलुकलाई गम्भीर चुनौती पनि दिएको छ । आफ्नो मुलुकको श्रम कानुनमा महत्वपूर्ण परिवर्तन गर्दै जसलाई अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ)ले ‘ऐतिहासिक’ भनिसकेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
प्रतिकृया दिनुहोस