झापा: गौरादह न. पा. वडा नं. ९ बैगुन्धुराले मंगलबार पत्रकार अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । बिगत ३ वर्षको उपलब्धि र वडाका आगामी कार्यक्रम तथा भविस्यका योजनाको सन्दर्भमा अन्तरक्रियात्मक पत्रकार सम्मेलनको आयोजना गरिएको हो । कार्यक्रममा वडा अध्यक्ष सिताराम भट्टराईले बिगत ३ वर्षको वडा गतिविधिको समिक्षा गर्दै सम्पन्न भएका बिकास निर्माणकार्यहरुको बारेमा जानकारी गराएका थिए ।
यस्ता छन् वडाका गतिविधिहरु
बिगत ३ वर्षमा नगरपालिका बाट यस वडालाई प्रथम वर्ष १ करोड, दोश्रो वर्ष १ करोड १० लाख, तेस्रो वर्ष १ करोड २० लाख र चालु आर्थिक वर्षको लागि १ करोड २० लाख गरि कुल ४ करोड ५० लाख बजेट प्राप्त गरेको देखिन्छ ।
हरेक वर्ष सडक संजाल बिस्तार मै संघर्षरत यस वडाले भिन्न भिन्न प्रकृतिका बिकास कार्यक्रमहरु समेत सञ्चालन गरेको वडा अध्यक्ष सिताराम भट्टराई बताउँछन् । करिब १० हजार जनसंख्या रहेको यस वडामा करिव १२२९ घरधुरी रहेका छन् भने प्रत्येक घरमा एम्बुलेन्स सुबिधा पुग्न सकोस् भन्ने उद्देश्यले ग्रामीण सडक बिस्तार तथा स्तरोन्नति गर्ने लक्ष लिइएको पाइएको छ ।
हालसम्म ग्रामीण सडकमा ५.५ कि. मी. सडक ग्राभेल गरिसकेको देखिन्छ भनें १३.७ कि. मी. कच्ची सडक निर्माण भएको देखिन्छ । सडक स्तरोन्नति तर्फ जिल्ला समन्वय समिति, नगरपालिका, वडा, सहरी बिकास कार्यालय तथा प्रदेश सांसद बाट प्राप्त बजेट करिब २४ कि. मी. सडक स्तरोन्नति भएको देखिन्छ । त्यसैगरी ९ वटा स्ल्याब कल्भर्ट, ६ वटा कल्भर्ट, ६६ वटा पोल खरिद, १५ कि. मी. सडक मर्मत सम्पन्न भएको देखिन्छ । त्यसैगरि वडाले सञ्चालन गरेका अन्य सामाजिक दायित्वमा स्वास्थ्य सिविर सन्चालन, अतिरिक्त बाल कक्षा सन्चालन, बाल बिकास केन्द्र निर्माण, मिलन चौक स्तम्भ, मलामी टहरा, आयुर्वेद भवन, पुरानो स्वास्थ्य चौकी भवन, बाह्य खोप केन्द्र, मठमन्दिरमा भौतिक सुधार लगायतका कार्य गरेको देखिन्छ भनें दातृ निकाय संगको ५ लाख रुपैयाँ साझेदारीको अपेक्षा सहित १० लाखको लागतमा ग्रामिण खानेपानी बिस्तार कार्यक्रम संचालनको लक्ष रहेको बताइन्छ ।
विभिन्न प्रयोजनको लागि जग्गा व्यवस्थापन
हाल वडा कार्यालय रहेको भवन अत्यन्तै साघुरो र दैनिक कार्यसम्पादनमा समस्या भोग्नु परेको देखिदै गर्दा निकट भविस्यमा नै सुबिधा सम्पन्न वडा कार्यालय भवन निर्माण सम्पन्न गरिसक्ने बताइएको छ भनें स्वास्थ्य चौकी, प्रहरी चौकी, सशस्त्र प्रहरी सुरक्षा वेस क्याम्प, खानेपानी, अमर सामुदायिक सिकाइ केन्द्र ( सामुदायिक हल), बाह्य खोप केन्द्र आदि वडा भित्र रहेका सामाजिक महत्व भएका योजनाका लागि जग्गा व्यवस्थापन गर्ने कार्य सम्पन्न भएको बताइन्छ ।
वार्ड अध्यक्ष भन्छन् , ‘बैगुन्धुरामा एम्बुलेन्स र दमकल छिर्ने सडक नै छैन।’
द्रुत रूपमा सडक संजाल बिस्तार भएको भनिरहदा गौरादह नगरपालिका संग प्रत्यक्ष जोड्न सक्ने गरि एउटा पनि स्तरीय सडक नभएको स्वयं वडाध्यक्ष भट्टराई स्विकार गर्छन् । ‘हामीले वडाको बजेट बाट ग्रामीण सडक बिस्तार गर्यौ तर नगरपालिका संग वडालाई जोड्न सकिएन, यो अत्यन्तै दुखद पक्ष हो ।’, वडाध्यक्ष भट्टराई चिन्ता व्यक्त गर्छन् । गौरादह- कोरोवारी सडक ठेक्का लागेर काम सुचारु भएको वर्षौं बितिसक्दा र कोहबरा महाभारा हुँदै झापा गा. पा. जोड्ने सडक समेत वर्षौं देखि अलपत्र छ । सडक बन्न नसकेको दुखद प्रसंग उठाउदै उनी ठेकेदार र नगरप्रमुखले यसको जिम्मेवारी लिनुपर्ने बताउछन् ।
‘हामीले बारम्बार टेवल ठोक्यौं, श्रीमान नगर प्रमुखलाई अनुनय बिनय गर्यौं, वहाँ कानमा तेल हालेर बस्नु हुन्छ, कुरा सुन्नै चाहानु हुन्न, सडक डिभिजनलाई भनिदिनुहोस् मेयर साव भनेर दर्जनौं पटक अनुरोध गर्दा समेत नगरप्रमुखले यो सडककको लागि चिन्ता गर्नु भएन, हामी वहाँ संग आश्चर्यचकित भएका छौं ।’, अध्यक्ष भट्टराईले पीडा व्यक्त गरे । ‘बारम्बार पत्र नै काटेर खबरदारी गर्दा समेत नगरपालिकाले ठेकेदारलाई र सडक डिभिजनलाई दबाब दिन नसक्नु लाई अकर्मण्यताको उदाहरण हो’ उनि चिन्ता व्यक्त गर्छन् ।
तपाईं वडाध्यक्ष भएपछि सडक डिभिजन कार्यालय संग समन्वय गर्ने कार्य पनि तपाईंको होला नी भन्ने पत्रकारको जिज्ञासामा अध्यक्ष भट्टराई भन्छन्, ‘म ठोकुवा गरेर भन्छु, वडाको आन्तरिक बजेटबाट संचालित योजनामा कुनै ढिलासुस्ती छैन, समयमा निर्माण सम्पन्न नहुने परिस्थिति आए पकेट बाट खर्च गरेर भए पनि समयमा काम सम्पन्न गरेका छौँ ।’ बाहिर बाट संचालित योजनामा वडा कार्यालयले पत्राचार गर्ने, नगरप्रमुखलाई खबरदारी गर्ने मात्र हो, त्यो भन्दा बढि गर्न त क्षेत्राधिकारको पनि प्रश्न रहने उनको बुझाइ छ । हामीले हार्म्रो काम गरेका छौँ भने श्रीमान नगरप्रमुखको पनि दायित्व छ होला नी ? अध्यक्ष भट्टराई मेयर रोहित साहकै अकर्मण्यताको कारण गौरादह-कोरोबारी सडक र कोहबरा-महाभारा सडक बन्न नसकेको तर्फ इसारा गर्दै प्रश्न गर्छन् ।
‘आन्तरिक बिकास संतोषजनक नै भएपनि आपतकालीन अवस्थामा दमकलको त कुरै छोडौं, एम्बुलेन्स पनि आइपुग्ने अवस्था छैन’, कार्यपालिका सदस्य योगेस परियार चिन्ता प्रकट गर्छन् ।
‘साच्चिकै भन्ने हो भने बैगुन्धुरामा एम्बुलेन्स छिर्न समेत बाटो छैन, यो अति नै दयनिय पक्ष हो, नगरपालिकाले हामीलाई सौताको व्यवहार गरेको छ।’,वडा महिला सदस्य यम कुमारी प्रधान बताउछिन् ।’ यद्यपि हालसम्मको बिकास निर्माणको काम संतोषजनक नै भएको उनको धारणा छ ।
बैगुन्धुरा बजारलाई आधुनिक बनाउने महत्वाकांक्षी योजना
यस वडाको मुख्य बजारको रूपमा रहेको बैगुन्धुरा बजारलाई आधुनिक बजारको रूपमा बिकास गर्नको लागि भन्दै पुरातात्त्विक महत्व भएका पिपल र बरका रुखहरु काटिएको पाइएको छ । ५० औं वर्ष पुराना पिपलका रुखहरु काटेर ढाल्नु भएको रहेछ, भौतिक बिकासको मोहले प्राकृतिक बिकासलाइ चुनौती दिएको त होइन? भन्दै पत्रकारले जिज्ञासा राख्दा अध्यक्ष भट्टराईको जवाफ यस्तो छ, ‘सहरी बिकास कार्यालय बाट २ करोड र नगरपालिका बाट १८ लाखको लागतमा नमुना बजार बनाउने योजनाका खाका अगाडी सार्दा केही रुखहरु हटाउनै पर्ने बाध्यता भएको छ, काटिएका रुखहरुको सट्टामा राम्रो जातका अन्य बिरुवा रोप्ने लक्ष छ, दुई वटा रुख काट्न बाध्य भइयो तर अब अन्य रुखहरु काटिने छैन, म विश्वास दिलाउन चाहन्छु ।’
पिच सडक निर्माण नहुने
हरेक वडामा पक्की सडक निर्माण गर्ने भन्दै नगरपालिकाले बजेट विनियोजन गरिदिएको भए पनि वडा नं. ९ मा वडाको बजेट बाट पक्की सडक निर्माण गर्न असहज रहेको वडा अध्यक्ष भट्टराईको भनाइ छ । अझैसम्म वडा भित्र माटोको काम नै बाकी रहेकोले त्यता तर्फ हामीले सोच्न सकेनौं, अत्यन्तै बिकट बिकट स्थानमा ग्रामीण सडक निर्माण भएका छन् र कतिपय स्थानमा निर्माणकै क्रम पनि छ, पक्की सडकक लागि भनिएको यो वर्षको बजेट संशोधन गर्ने सम्बन्धमा दलिय प्रतिनिधि संग समेत छलफल गरि नगरलाई जानकारी गराइएको अध्यक्ष भट्टराई बताउछन् ।
भौगोलिक हिसाबले हेर्दा गौरादहका अन्य वडा भन्दा छुट्टै अस्तित्व रहेको भान पर्ने यस वडाको बिकासमा अझै धेरै काम गर्न बाकी रहेको देखिन्छ भने अहिलेसम्म खर्च गरिएको ४ करोड ५० लाख रुपैयाँले वडाको मुहार परिवर्तन गर्न सकेको छ कि छैन भन्ने तथ्य वडाबासी माझ घाम जत्तिकै छर्लङ्ग छ र आगामी २ वर्षमा वडाले बिकासमा कसरी फड्को मार्ला भन्ने चर्चा र चिन्ता मै जनप्रतिनिधिको भविस्य निर्धारित हुने आम सर्वसाधारणको निष्कर्ष छ ।
प्रतिकृया दिनुहोस