झापा: गौरादह नगरपालिका वार्ड नं. ९ बैगुन्धुरामा रहेको बैगुन्धुरा बचत तथा ऋण सहकारी संस्थामा चरम आर्थिक हिनामिना बढेको भन्दै स्थानीयले आपत्ति प्रकट गर्न थालेका छन् । संस्था भित्र चरम आर्थिक हिनामिना भएको भेटिए पछि अहिले यो विषयले गम्भीर मोड लिदै गएको छ ।
कसरी पत्ता लाग्यो हिनामिना ?
बैगुनधुरा बचत तथा ऋण सहकारी र नेपाल बहुउद्देश्यीय सहकारी संस्था बिच एकीकरण गर्ने सहमति अन्तिम चरणमा पुगेको बताइएको छ । दुई संस्थालाई एकीकरण गर्ने कार्यलाई पुर्णता दिने तैयारीमा दुबै पक्षका पदाधिकारी बसेर साझा धारणा बनाएसंगै नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको प्रधान कार्यालयबाट अडिटर खटाइएको थियोे । अडिटरले चार खाता जुदाएर हेर्दा करिब ३२ लाख रुपैयाँ रकम संस्थामा नदेखिएको रिपोर्ट तैयार गरेपछि उक्त घटना बाहिरिएको हो । एकातिर एन. एम. सी. का लेखापरीक्षकले करिब ३२ लाखको हिसाब नदेखिएको बताइरहदा संस्थाले गतवर्ष तैयार पारेको लेखा प्रतिवेदनमा हिसाबकिताबमा कुनै तलमाथि भएको देखिदैन । ‘हामीले प्रत्येक वर्ष अडिट गराएरै साधारणसभाको आयोजना गरेका छौं, लेखा परिक्षक कुशहरी दाहालले बुझाएको लेखा प्रतिवेदन हामीसंग सुरक्षित नै छ ‘, संचालक समिती अध्यक्ष प्रकाश चन्द्र खरेल बताउछन् ।
स्थानीयको बिरोध
अध्यक्ष खरेलले निकट भविस्यमा आयोजना गरिने साधारणसभासम्ममा सबै तथ्य बाहिर ल्याउने बताइरहदा स्थानीयको बिरोध भने चर्को रूपमा शुरु भएको छ ।एन. एम. सी. का लेखापरीक्षकले तुरुन्तै घोटाला भेटाएको भन्दै संस्थाको लेखा समिति र स्वतन्त्र लेखापरीक्षणबाट उक्त हिसाब किन निस्किएन भन्दै गम्भीर आशंका प्रकट गर्न थालेका छन् ।
के भन्छन् व्यवस्थापक ?
१२ वर्ष अगाडी संस्था शुरु हुने बित्तिकै व्यवस्थापकको रूपमा कार्य सम्हालेका व्यक्ति हुन् ऋषि उप्रेती । ४६२ जना शेयर सदस्य रहेको संस्था संचालनको मुख्य बागडोर उनकै हातमा छ । आम्दानी र खर्चको हिसाब किताब राख्न उनी निकै खप्पिस मानिन्छन् ।ओमकार टाइम्सले उनी संग हिसाब हिनामिना किन भयो भनेर जानकारी लिन खोज्दा उनले दिएको तथ्यांक यस्तो देखिन्छ :
कुल शेयर संख्या : ४६२
कुल शेयर पुजी- ५६ लाख २६ हजार ७ सय
कोष हिसाब – २६ लाख ६८ हजार ७ सय ९
वचत निक्षेप – २ करोड ५१ लाख १५ हजार ९ सय ३९ ।
भुक्तानी दिनुपर्ने – २० लाख ९ हजार ९ सय १७ ।
नगद हिसाब – ७ लाख २५ हजार ३ सय ६६ ।
बैंक मौज्दात – ३६ लाख ११ हजार ९ सय ६१ रुपैयाँ ५६ पैसा ।
लगानी हिसाब – ११ हजार ५ सय ।
ऋण लगानी – २ करोड ७५ लाख ५३ हजार ८ सय ८८ ।
सम्पत्ति हिसाब – ७ लाख ९२ हजार २ सय २ ।
अन्य सम्पत्ति – २ सय ६९ ।
कुल खर्च – ३६ लाख १९ हजार ८ सय ३० ।
कुल आम्दानी – ४४ लाख ९८ हजार ४ सय ३० ।
फरक परेको रकम
बचत तर्फ १६ लाख ८५ हजार ७ सय ९९ ।
कर्जा तर्फ – १४ लाख ४९ हजार ६१ ।
बचत र कर्जा तर्फ यति ठूलो बेरुजु कसरी देखियो गम्भीर प्रश्न खडा भएको छ ।कर्जा तर्फ १४ लाख भन्दा बढी रकम फरक पर्नुले झन् थप आशंका जन्माएको छ ।
के भन्छन् लेखा परिक्षक ?
गौरादह १ निवासी कुशहरी दाहाल स्थानीय क्षेत्रमा राम्रै नाम चलेका लेखापरीक्षक हुन् । यस संस्थाको लेखापरीक्षण २ वर्ष देखि उनलेनै गर्दै आएका छन् । तपाईंले लेखा परिक्षण गर्दा हिसाब किताब राम्रै मिलेको देखाउनु भएको छ तर आज यति मोटो रकम अपचलन भएको देखिरहेको छ, यसमा तपाईंको भनाइ के छ ? भन्ने जिज्ञासामा लेखा परीक्षक दाहाल भन्छन् , ‘मैले लेखापरीक्षण गर्दा हिसाब मिलेकै देखिन्छ, सामान्यतया अडिटरले अडिट गर्दा सबै हिसाब हेरिदैन, त्यसको लागि समय पनि हुँदैन, त्यसमा पनि सफ्टवेयर प्रणालीमा वहाँहरु किन जान चाहानु हुन्न भन्ने हो, हामीले त १२ महिनाको रिपोर्ट तैयार गर्दा क्रस चेक अर्थात बिच बिच बाट २/३ महिनाको हिसाब निकालेर हेर्ने हो, मैले हिसाब गर्दा त त्यस्तो नमिल्ने थिएन त।’
‘४ वर्ष देखि सफ्टवेयर प्रणालीमा जानको लागि हामीले सुझाव दिदै आएका हौं, वहाँहरुले कम्प्युटर, ल्यापटप समेत ४ वर्ष अगाडी नै खरिद गर्नु भएको हो ।’, उनी बताउछन् । एन. एम. सी. का अडिटरले देखाइदिए जस्तै गरि हिसाब फरक परेको नै हो भनें यसमा आफू पनि मतियारको रूपमा सजायको भागिदार हुन सक्ने सम्भावना समेत रहेको उनि स्वीकार गर्छन् । ‘यसमा मुख्य कमोजोरी व्यवस्थापक कै भएको र लेखा परिक्षक सहित सञ्चालक समिति पनि उत्तिकै दोषी हुने लेखा परिक्षक दाहाल जिकिर गर्छन् ।
के भन्छन् लेखा समिति संयोजक ?
संस्थाको लेखा समितिको संयोजक हुन् कोषराज गड्तौला । कर्जा लगानी र बचतमा समेत लाखौं अनियमितता देखिन्छ त भन्ने जिज्ञासामा गड्तौला भन्छन्, ‘एन. एम. सी. को लेखापरीक्षणले झण्डै ३२ लाख रकम बेरुजु देखाएको छ, यद्यपि हाम्रो आन्तरिक लेखापरीक्षण चलिरहेकोले अहिले नै यसै हो भन्ने अवस्था देखिदैन ।’लेखा समितिको त्रैमासिक हिसाबमा पनि रकमान्तर नदेखिएको उनको जिकिर छ ।
३२ लाख लगानी गरेको भए उक्त रकमले कति आमदानी गर्ने थियो त ? के ३२ लाख मात्र असुल उपर गरेर पुग्ला त? भन्ने जिज्ञासामा उनले भने, ‘हामीले अहिले नै केही बोल्न मिल्दैन, लेखा परिक्षण रिपोर्टले जे देखाउछ त्यसलाई मात्र आधार मान्न मिल्छ उनले भने ।’
के भन्छन् सरोकारवाला ?
योगेस भट्टराई सामाजिक संजालमा लेख्छन् , ‘आर्थिक हिनामिना गर्ने मान्छे पत्ता लगाई कडा कारबाही गर्न माग गर्दछु । साथै, हिनामिना कहिले बाट भएको हो सो कुरा सम्बन्धित बिषयगत समितिहरूले किन पत्ता लगाएनन् ? बिस्तृतमा छानवीन गर्नु जरूरी छ । अपराध ढाकछोप गर्ने होईन ।’
त्यस्तै सुर्य न्यौपाने फेसबुकमा लेख्छन् , ‘ २/४ दिन ढिलाे हुदा हर्जना र तागेतामा जानेहरु माेटाे रकम घाेटाला हुदा किन चुप बस्ने? जसरि नियम लादेका थिए त्यसरी नौ असुलि गर्नु पर्छ ।’
रोहित बस्नेतको फेसबुकमा प्रतिक्रिया यस्तो छ, ‘गाउले छरछिमेकी शेयर सदस्यहरुको पैसा खानेहरुलाइ कानुनी कार्वाही गरि पैसा असुल उपर गर्नुपर्छ। ‘
टेकबहादुर निरौला, ‘केही समय अगाडी देखि बैगुन्धुरामा विकृति बढ्न थालेको छ । हिजोसम्म आफुलाइ सामजिक अगुवा भन्नेहरु नै आज यस्तो घृणित काम मा लागेका छन् ।’
नेपाली कांग्रेसले जारी गर्यो विज्ञप्ती
यसै बिच नेपाली कांग्रेस गौरादह वडा नं. ९ वडा समितिले विज्ञप्ती नै जारी गरि सत्य तथ्य के हो छानबिन गर्न माग गरेको छ । नगर सह-सभापति तथा ९ नं. वडा सभापति समेत रहेका बाबुराम बस्नेतद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘अपचलन भएको रकम र सो रकमको ब्याज हर्जना समेत हिसाब गरि तत्काल असुल उपर गर्न तथा विषयविज्ञहरु रहेको एक स्वतन्त्र तथा अधिकार सम्पन्न छानबिन समिति गठन गरि सत्य तथ्य सार्वजनिक गर्न र दोषीलाई कानुनी कार्वाही गरि संस्था र शेयर सदस्यको गरिमालाई संरक्षण गर्न नेपाली कांग्रेस जोडदार माग गर्दछ ।’
हामीले रकम असुली गरि सकेका छौँ – संस्था अध्यक्ष
यसै बिच संस्थामा करिब ३२ लाख बराबरको अनियमितता देखिएपछि व्यवस्थापक उप्रेतीबाट सोही बराबरको रकम असुल उपर गरिसकेको संस्था अध्यक्ष प्रकाश चन्द्र खरेलले बताएका छन् । ‘अहिलेलाई हामीले दाबी बराबरको रकम असुल उपर गरेका छौँ, अन्तिम लेखापरीक्षण पस्चात कस्तो हिसाब आउछ त्यसैको आधारमा संस्था अगाडी बढ्छ ।’खरेलले ओमकारसंग भने ।
के भन्छन् मेयर?
डिभिजन सहकारीको कार्य क्षेत्रमा पर्दै आएका सहकारीहरु स्थानीय सरकार सञ्चालन ऐन बनेपछि स्थानीय तहले नै हेर्ने जिम्मेवारी छ । सहकारीलाई सन्तुलित र ब्यवस्थित तरिकाले संचालन गर्न अख्तियारी पाएको भएता पनि गौरादह नगरपालिकाले भने आफ्नो मातहतमा रहेका सहकारीलाई नियमन, नियन्त्रण र अनुगमन गर्न खासै जागर चलाएको देखिदैन । बैगुनधुरा बचत तथा ऋण सहकारी संस्थामा समस्या देखिएको बारेमा मेयर साह संग बुझ्दा उनी यसो भन्छन्,’वहाँहरु मसंग सम्पर्कमा नै हुनुहुन्छ, संस्था भित्र समस्या रहेको मलाई राम्रै जानकारी छ, संस्थालाई आघात पर्ने गरि कहि कतैबाट खेल खेलिएको छ भने नियमन र नियन्त्रण गर्ने निकाय नगरपालिका नै हो ।’ साहले भने ।
प्रतिकृया दिनुहोस