• समाचार

    भुटानले गर्यो राष्ट्रव्यापी लकडाउन

      ओमकार टाईम्स


    थिम्पु : हिमाली मुलुक भुटानले कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न भन्दै राष्ट्रव्यापी लकडाउन घोषणा गरेको छ । विदेशबाट फर्किएका तर कवारेन्टिन पूरा गरेका एक व्यक्तिमा कोरोना संक्रमण देखिएपछि लकडाउन गर्नुपरेको भुटान सरकारले जनाएको छ ।

    सरकारले आम नागरिकलाई घरमै बस्न आग्रह गर्दै आदेश जारी गरेको छ । भुटानमा हाल करिब सात लाख ५० हजार जनसंख्या छ । सरकारी आदेशसँगै भुटानका सबै विद्यालय, कार्यालय र व्यावसायिक संरचनाहरु बन्द गरिएका छन् ।

    सरकारले लकडाउन पाँच दिनदेखि २१ दिनसम्म जारी रहने जनाएको छ । यस अवधिमा सबै संक्रमितको पहिचान गर्ने तथा सबै संक्रमितलाई अलग्याउने जनाउँदै सरकारले यस कार्यबाट भाइरस प्रसारको साङ्लो तोडिने विश्वास लिएको छ ।

    कुवेतबाट फर्किएकी एक २७ वर्षीया महिलालाई अनिवार्य क्वारेन्टिनमा राखेर घर पठाइएको थियो । तर उनमा सोमबार पुनः परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । उनी भुटानका विभिन्न स्थानमा घुमेको सरकारको आशंका छ ।

    पर्यटन आश्रित मुलुक भुटानले एक अमेरिकी पर्यटकमा कोरोना पुष्टि भएर अस्पताल भर्ना भएलगत्तै गत मार्चमा विदेशी पर्यटकलाई भुटान प्रवेशमा रोक लगाइएको छ । भुटानका सबै ११३ जना संक्रमित व्यक्तिलाई क्वारेन्टिनमा राखिएको थियो ।

    प्रतिकृया दिनुहोस